काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै रहेको बताएका छन्।नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै उनले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आफूले बोलेको कुरा १५औँ महाधिवेशनसम्म आइपुग्दा पनि कुनै सुधार नभएको बताए।
“मैले नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटनको क्रममा जे बोलेको थिएँ, आमजनतामा नेताप्रति र राजनीतिप्रति जुन प्रकारको वितृष्णा र घृणा थियो, त्यसमा सुधार भएको छैन”, उनले भने, “त्यसबेला मुलुकको नेतृत्व गरिरहेका मुख्य–मुख्य नेतालाई भ्रम भएजस्तो देखियो। उहाँहरूले भर्खर–भर्खर, त्यसमाथि एउटा राष्ट्रिय पार्टी नभएको पार्टीको अध्यक्ष यहाँ आएर हामीलाई अपमान गरिरहेको छ र अर्ती–उपदेश दिइरहेको छ भन्ने विचार व्यक्त गर्नुभएको थियो। मैले त्यो बेला भनेको कुरा अहिले पनि उत्तिकै सान्दर्भिक भएको देख्छु।”
अध्यक्ष लिङ्देनले मानिसमा परिवर्तन भए पनि देशको स्थिति भने जहाँको त्यही रहेको उल्लेख गर्दै देश र जनताका पक्षमा संविधानसमेत परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरे।यसैगरी, जनता समाजवादी पार्टीका नेता शरदसिंह भण्डारीले प्राकृतिक विपद्का कारण जनजीवन अस्तव्यस्त भई अर्थतन्त्र प्रभावित भएको विषम परिस्थितिमा मुलुकका जिम्मेवार सबै राजनीतिक दलबीच एकता, संवाद, सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिए।
नेता भण्डारीले नेपाली कांग्रेसले नेपालको राजनीतिक इतिहासमा लामो र महत्त्वपूर्ण योगदान पुर्याएको चर्चा गर्दै भने, “नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलन, विभिन्न राजनीतिक परिवर्तन, जनआन्दोलन तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत गर्ने संविधान २०७२ को निर्माण प्रक्रियामा कांग्रेसले खेलेको निर्णायक तथा नेतृत्वदायी भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको छ। त्यसलाई हामी सबैले मनन गर्नुपर्दछ।” देशमा आर्थिक सङ्कट, बढ्दो बेरोजगारी, युवाको विदेश पलायन, उत्पादनमा आएको कमी, सामाजिक असमानता तथा नागरिकमा बढ्दै गएको निराशाजस्ता गम्भीर चुनौती कायमै रहेकाले मिलेर तिनको समाधान गर्नुपर्नेमा उनले जोड दिए।