काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता र लोकतन्त्रका लागि सबै राजनीतिक शक्ति फेरि एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन्।नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा आज शुभकामना मन्तव्य दिँदै महासचिव पोखरेलले राष्ट्रियता र लोकतन्त्रका सवालमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर युवाका आकाङ्क्षा पूरा गर्न लाग्नुपर्ने बताए।
“लोकतन्त्र, सार्वभौमसत्ता र मुलुकको हित, राष्ट्रियता, परिवर्तन, स्थायित्व, विकास र समृद्धिका लागि दलहरू मिलेर काम गर्नुपर्छ। त्यसका लागि हाम्रो दल सहकार्य गर्न तयार छ”, महासचिव पोखरेलले भने, “पछिल्लो निर्वाचनबाट जनताको स्थायित्वको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाइको मत प्राप्त गरेको हो। सुशासन, सेवा प्रवाह र रोजगारीका क्षेत्रमा नयाँ पुस्ताका आशा र अपेक्षालाई निराशामा परिणत हुन दिनुहुँदैन। त्यसका लागि यो महाधिवेशन सफल हुन सकोस्।”
महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलसँग संवाद गर्न अग्रसर भए पनि राष्ट्रिय समस्यामा सरकारले राजनीतिक दलसँग संवाद नगरेको टिप्पणी गरे। जलवायु न्यायको प्रश्न पनि आजको साझा प्रश्न भएकाले यसको सामना गर्न पनि सबै एक ठाउँमा आउनुपर्ने महासचिव पोखरेलको भनाइ थियो।