काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रमा देखिएका वातावरणीय समस्या समाधानका लागि नेपाल र स्विट्जरल्याण्डबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
नेपाल भ्रमणमा रहेका स्विट्जरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलसँग सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । जलवायु परिवर्तनका चुनौती सामना गर्न र हिमाली क्षेत्रको वातावरणीय संरक्षणमा दुवै देशबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दे उनले नेपाल सहकार्यको लागी उत्सुक रहेको बताए ।
भेटमा राष्ट्रपति पौडेलले नेपालको शान्ति प्रक्रिया, लोकतन्त्र, संघीयता, स्थानीय शासन तथा सामाजिक–आर्थिक विकासमा स्विट्जरल्याण्डले लामो समयदेखि पुर्याउँदै आएको सहयोगको प्रशंसा गरेका थिए ।
नेपालको शान्ति प्रक्रियामा स्विस सरकारको निरन्तर सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले दुई देशबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले स्विट्जरल्याण्डका सुदृढ लोकतान्त्रिक मूल्य र मान्यताबाट आफू निरन्तर प्रभावित रहेको पनि बताए ।
भेटका क्रममा स्विट्जरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तीव्र वातावरणीय परिवर्तन भइरहेको उल्लेख गरे । उनले हिमाली क्षेत्रमा सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली महत्त्वपूर्ण रहेको बताउँदै यस क्षेत्रमा स्विट्जरल्याण्डले गरिरहेको काममा नेपालसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए । दुवै पक्षबीच जलवायु परिवर्तन, हिमाली वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण तथा द्विपक्षीय सहयोगका विषयमा छलफल भएको थियो ।