विराटनगर, भन्सार जाँचपासमा भन्सार एजेन्टका प्रतिनिधिको भूमिकामाथि प्रश्न उठेपछि भन्सार विभागले विराटनगर भन्सारमा विशेष निगरानी र अनुसन्धान सुरु गरेको छ ।भन्सार एजेन्टले आफ्नो अनुपस्थितिमा प्रतिनिधिमार्फत जाँचपास गराउने प्रवृत्ति बढेको र यसबाट राजस्व संकलनमा असर परेको देखिएपछि विभागले अनुसन्धान थालेको हो ।
विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले भन्सार जाँचपासका क्रममा सम्बन्धित भन्सार एजेन्ट स्वयं उपस्थित हुनुपर्ने भन्दै कडाइ गरेका छन् । कार्यलयको कडाईपछि पछिल्लो समय एजेन्टहरू आफैं कार्यालयमा उपस्थित हुन थालेका छन् । यसअघि कतिपय एजेन्टले आफ्नो हस्ताक्षर तथा लगइन प्रतिनिधिलाई प्रयोग गर्न दिने गरेका थिए ।
भन्सार विभागका स्रोतका अनुसार भन्सार एजेन्टको प्रतिनिधिका रूपमा काम गर्ने व्यक्तिको संख्या र उनीहरूको भूमिकाबारे समेत अध्ययन भइरहेको छ । विशेषगरी एजेन्टको नाममा इजाजत प्राप्त व्यक्तिले प्रतिनिधि तोकेर आफू नियमित रूपमा जाँचपास प्रक्रियामा उपस्थित नहुने अवस्थाले कानुनी तथा राजस्वसम्बन्धी जोखिम बढाएको विभागको प्रारम्भिक निष्कर्ष रहेको छ ।
अर्थ मन्त्रालयअन्तर्गत रहेको भन्सार विभागले भन्सार जाँचपासलाई सहजीकरण गर्न भन्सार एजेन्टलाई निश्चित संख्यामा प्रतिनिधि तोक्ने व्यवस्था गरेको छ । तर, यही व्यवस्थाको दुरुपयोग गरी एजेन्टको अनुपस्थितिमा प्रतिनिधिमार्फत ठूलो परिमाणमा जाँचपास हुने गरेको गुनासो बढेपछि विभागले प्रतिनिधिको भूमिकामाथि निगरानी बढाएको स्रोतको भनाइ छ । स्रोतका अनुसार केही भन्सार एजेन्टले आफू कार्यरत भन्सार कार्यालयबाहेक अन्य भन्सार कार्यालयमा समेत प्रतिनिधि नियुक्त गरेको विवरण विभागसँग रहेको छ । वीरगञ्ज भन्सारमा कार्यरत एजेन्टले विराटनगर, मेची र भैरहवा लगायतका भन्सार कार्यालयमा समेत प्रतिनिधि नियुक्त गरेको विवरणसमेत अध्ययनको क्रममा रहेको बताइएको छ ।
विराटनगर भन्सारमा पछिल्ला वर्षहरूमा एजेन्टका प्रतिनिधिको जीवनशैलीमा आएको परिवर्तनलाई लिएरसमेत प्रश्न उठ्न थालेको छ । विभागले उनीहरूको आम्दानी र आर्थिक गतिविधिमाथि समेत चासो देखाएको स्रोतले जनाएको छ । लामो समयदेखि सामान्य आर्थिक अवस्थामा रहेका केही प्रतिनिधिको छोटो अवधिमै आर्थिक हैसियतमा उल्लेख्य परिवर्तन देखिए पनि उनीहरुको आम्दानीको स्रोतसमेत अनुसन्धानको विषय बन्न सक्ने जनाइएको छ । यसैगरी व्यक्तिगत स्थायी लेखा नम्बर (पान) प्रयोग गरी ठूलो परिमाणमा कारोबार गर्ने प्रतिनिधिहरू करको दायरामा छन् वा छैनन् भन्ने विषयमा समेत प्रश्न उठेको छ । विभागले भन्सार प्रतिनिधिको आम्दानी, कारोबार र उनीहरूको वास्तविक भूमिकाबारे सम्बन्धित निकायसँग समन्वय गरी अध्ययन गर्ने तयारी गरेको स्रोतको भनाइ छ ।
भन्सार प्रतिनिधिको भूमिका र भन्सार राजस्वबीचको सम्बन्धबारे विभिन्न प्रश्न उठिरहेका बेला विभागले विराटनगर भन्सारमा निगरानी बढाएको हो । विभागले भन्सार एजेन्ट तथा उनीहरूका प्रतिनिधिले प्रचलित कानुन र तोकिएको कार्यविधिअनुसार काम गरे÷नगरेको विषयमा समेत अध्ययन गर्ने भएको छ । अनुसन्धानबाट अनियमितता पुष्टि भएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाहीको प्रक्रिया अघि बढाइने बताइएको छ ।