काठमाडौं, विकास बैंकहरूको वित्तीय अवस्था कमजोर देखिएको छ । क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंकहरू सञ्चालनमा छन् । यीमध्ये दुईवटाको घाटा झन् चुलिएको छ भने पाँचवटा घाटाबाट नाफामा फर्किएका छन् । तर उनीहरूको नाफा पनि सन्तोषजनक नदेखिएको र एकाधबाहेकका धेरै बैंकहरूको नाफा खुम्चिएको हो ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांश बैंक नाफामा रहे पनि केही बैंकको नोक्सानी झन् बढेको छ भने केही बैंकको नाफा उल्लेख्य रूपमा खुम्चिएको छ । यसले विकास बैंकहरूमा अवस्था कमजोर देखिएको हो । विशेषगरी सिन्धु विकास बैंक र सालपा विकास बैंकको वित्तीय अवस्था थप कमजोर देखिएको छ । अर्कोतर्फ, एक्सेल, नारायणी, ग्रीन, सप्तकोशी र मितेरीसहित केही बैंकले नाफा आर्जनमा सुधार गरेका छन् । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ठूलो घाटा बेहोरेका केही बैंक चालू् आवको पहिलो त्रैमासमा नाफामा फर्किनु सकारात्मक भए पनि सबै बैंकको अवस्था सन्तोषजनक नरहेको वित्तीय विवरणमा उल्लेख छ ।
अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको पहिलो त्रैमासमा सबैभन्दा बढी खुद मुनाफा कमाउने विकास बैंकको सूचीमा लुम्बिनी विकास बैंक अगाडि देखिएको छ । बैंकले ३२ करोड ७१ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । तर, गत आर्थिक वर्षको सोही अवधिमा ३४ करोड ८५ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको बैंकको मुनाफा केही घटेको छ । यसैगरी मुक्तिनाथ विकास बैंकले ३२ करोड २४ लाख २४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको बैंकले यसपटक उल्लेख्य सुधार गरेको छ । गरिमा विकास बैंकले पनि २४ करोड एक लाख २४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
गत वर्षको सोही अवधिमा २५ करोड पाँच लाख ७५ हजार रुपैयाँ नाफा कमाएको बैंकको कमाइ भने घटेको छ । कामना सेवा विकास बैंकले २३ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको बैंकले यसपटक सुधार गरेको हो । यसैगरी, ज्योति विकास बैंकले नाफामा उल्लेख्य छलाङ मारेको छ । गत आवको पहिलो त्रैमासमा जम्मा सात करोड तीन लाख ३४ हजार रुपैयाँ खुद मुनाफा कमाएको बैंकले चालू आवको पहिलो त्रैमासमा २० करोड एक लाख ६१ हजार रुपैयाँ पुर्याएको छ । यो सुधार विकास बैंकहरूमध्ये उल्लेखनीय देखिएको छ ।
अपरिष्कृत वित्तीय विवरणअनुसार शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १९ करोड ७३ लाख ३५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । तर, गत वर्षको २० करोड ३० लाख ४१ हजार रुपैयाँको तुलनामा बैंकको नाफा घटेको छ । महालक्ष्मी विकास बैंकले भने नौ करोड ७५ लाख १२ हजार रुपैयाँबाट नाफा बढाएर ११ करोड ८४ लाख ६७ हजार रुपैयाँ पुर्याएको छ । तर, सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ठूलो गिरावट आएको छ । गत आवको पहिलो त्रैमासमा आठ करोड ८२ लाख ११ हजार रुपैयाँ खुद मुनाफा कमाएको बैंकले चालू आवको पहिलो त्रैमासमा तीन करोड ३४ लाख ६१ हजार रुपैयाँमा चित्त बुझाउनु परेको छ । मितेरी डेभलपमेन्ट बैंकले भने दुई करोड ५२ लाख २३ हजार रुपैयाँबाट नाफा बढाएर तीन करोड ४२ लाख ६८ हजार रुपैयाँ पुर्याएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकले पनि गत आवको पहिलो त्रैमासको २९ लाख १४ हजार रुपैयाँको तुलनामा नाफा दोब्बरभन्दा बढी बढाउँदै ६१ लाख ४२ हजार रुपैयाँ पुर्याएको छ ।
यसैबीच, गत वर्ष घाटामा रहेका पाँचवटा विकास बैंकले चालू आवको पहिलो त्रैमासमा नाफा आर्जन गर्न सफल भएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकले गत आवको पहिलो त्रैमासमा १२ लाख १५ हजार रुपैयाँ घाटा बेहोरेकोमा यसपटक ४३ लाख ६० हजार रुपैयाँ नाफा कमाएको छ । एक्सेल डेभलपमेन्ट बैंकको सुधार अझ उल्लेखनीय छ । गत आवको पहिलो त्रैमासमा आठ करोड ९७ लाख ९६ हजार रुपैयाँको घाटा बेहोरेको बैंकले यसपटक ४० लाख पाँच हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकले गत वर्षको पहिलो त्रैमासमा दुई करोड २१ लाख सात हजार रुपैयाँ घाटा बेहोरेकोमा चालू आवको पहिलो त्रैमासमा २९ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको छ । ग्रीन डेभलपमेन्ट बैंकले पनि गत वर्षको पहिलो त्रैमासको तीन करोड एक लाख ५६ हजार रुपैयाँ घाटालाई उल्ट्याउँदै ४९ लाख २८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । मितेरीले पनि नाफा बढाएको छ । गत आवको पहिलो त्रैमासमा दुई करोड ५२ लाख २३ हजार रुपैंयाँ खुद मुनाफा कमाएको मितेरीले चालू आवको पहिलो त्रैमासमा नाफा बढाएर तीन करोड ४२ लाख ४८ हजार रुपैयाँ पुर्याएको छ ।
विकास बैंकहरूमध्ये सबैभन्दा चिन्ताजनक अवस्था सिन्धु विकास बैंकको देखिएको छ । बैंकले चालू आवको पहिलो त्रैमासमा छ करोड २१ लाख ३६ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा चार करोड ४५ लाख ९७ हजार रुपैयाँ घाटा रहेको बैंकको नोक्सानी यसपटक थप बढेको छ । सालपा विकास बैंकको अवस्था पनि कमजोर देखिएको छ । गत आवको पहिलो त्रैमासमा ९९ लाख ८४ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको बैंकले चालू आवको पहिलो त्रैमासमा एक करोड ७४ लाख २७ हजार रुपैयाँ घाटा व्यहोरेको छ । अर्थात्, बैंकको नोक्सानी उल्लेख्य रूपमा बढेको छ । - सुरेश राउत