काठमाडौं, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले घरजग्गा कारोबार (रियल स्टेट क्षेत्र)लाई पुनरुउत्थान नगरी नेपालको आर्थिक शिथिलताको अन्त्य सम्भव नहुने बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सको समन्वय तथा सहकार्यमा आयोजित नवौं ल्यान्ड, हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो–२०२६ उद्घाटनमा अध्यक्ष अग्रवालले भूमि, आवास, पूर्वाधार तथा निर्माण क्षेत्र नेपालको अर्थतन्त्रका महत्वपूर्ण आधार भएको बताए । यस क्षेत्रले रोजगारी सिर्जना, लगानी परिचालन, बैंक तथा वित्तीय क्षेत्रको गतिविधि, निर्माण सामग्री उद्योग, राजस्व र समग्र आर्थिक गतिविधिमा प्रत्यक्ष प्रभाव पार्ने उनले बताए । अध्यक्ष अग्रवालले पछिल्लो समय महामारी, विश्वव्यापी भूराजनीतिक तथा आर्थिक चुनौती र संकुचित नीतिगत व्यवस्थाका कारण रियल स्टेट क्षेत्र प्रभावित भएको उल्लेख गरे । यसको असर बैंक तथा वित्तीय संस्थाको ऋण पोर्टफोलियोदेखि औद्योगिक तथा व्यावसायिक गतिविधिसम्म परेको उनको भनाइ थियो ।
हाल उच्च ब्याजदर र कर्जा प्रवाहमा देखिएको कठोरताका कारण धेरै उद्यमी व्यवसायीले बैंक तथा वित्तीय संस्थाको किस्ता तथा ब्याज तिर्न कठिनाइ भोग्नुपरेको उनले बताए । ठूलो संख्यामा उद्यमी व्यवसायी कालोसूचीमा परेको तथा कतिपय व्यवसायीको धितोमा रहेको घरजग्गा बैंकिङ लिलामीको प्रक्रियामा पुगेको उनको भनाइ छ । अध्यक्ष अग्रवालले रियल स्टेट क्षेत्रलाई चलायमान बनाउन हाउजिङ तथा रियल स्टेट कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्नुपर्नेमा जोड दिए । साथै, कर्जाको जोखिमभार तथा मूल्यांकनसम्बन्धी नीतिगत व्यवस्थामा पुनरावलोकन गरी बजारमा आवश्यक तरलता र पूँजीको पहुँच बढाउनुपर्ने बताए ।
घरजग्गा खरिदमा आम्दानीसँग जोडिएको कर्जा अनुपातसम्बन्धी कठोर व्यवस्था पुनरावलोकन गर्नुपर्ने, विदेशीलाई २५ प्रतिशत अपार्टमेन्ट लिजमा दिने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने तथा भू–उपयोग नीति र कार्यान्वयनमा रहेका अस्पष्टता हटाउनुपर्ने उनको सुझाव छ । त्यस्तै, कित्ताकाट तथा जग्गा वर्गीकरणमा देखिएका प्रशासनिक जटिलता अन्त्य, स्थानीय तह, मालपोत तथा नापी कार्यालयबीच प्रभावकारी समन्वय, डिजिटल भू–अभिलेख तथा एकीकृत जग्गा सूचना प्रणालीको विकासलाई प्राथमिकता दिनुपर्ने अध्यक्ष अग्रवालले बताए । रजिस्ट्रेसन शुल्क, पुँजीगत लाभकरलगायत कर तथा शुल्कको पुनरावलोकन गर्नुपर्ने र एउटै सम्पत्तिमा विभिन्न तहबाट लाग्ने शुल्क तथा प्रक्रियागत लागत घटाउनुपर्ने उनको भनाइ थियो ।