काठमाडौं, आम सञ्चार माध्यमलाई पूर्ण रूपमा बहिष्कार गरेर सोसल मिडियालाई सदुपयोग गरेकै भरमा चुनाव जितेर प्रधानमन्त्री बनेका वालेन्द्र शाह (बालेन)कै नामका ‘फेक आईडी’ बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्नेगरेको पाइएको छ । प्रधानमन्त्री बालेन शाहको नाममा त्यसरी फेक आईडी बनाएर सामाजिक सञ्जालमा जथाभावी पोस्ट भइरहँदा पनि गृह मन्त्रालय, नेपाल प्रहरी र त्यसअन्तर्गतको साइबर ब्युरोले रहस्यमय ढंगले मौनता साँधेर बसेका छन् ।
केही दिनअघि प्रधानमन्त्री बालेनको नाममा खोलेका तस्बिरसहितको आईडीबाट एउटा अस्वाभाविक पोस्ट भएको पाइएको छ । उक्त पोस्टमा भनिएको छ– साङ्लोबाट फुत्किएपछि आफ्नो हैसियत नै बिर्सिएर जथाभावी भुक्नेहरूलाई सांसद बनाएर साँच्चै ठूलो भूल गरिएछ ।
उक्त पोस्टको अर्को प्याराग्राफमा लेखिएको छ – राजनीतिक संस्कार, मयार्दा र जिम्मेवारीको सामान्य ज्ञान समेत नभएकाहरू आज संसद्मा उभिएर देशलाई उपदेश दिन्छन् । यिनीहरूको व्यवहाररले सांसद पदकै गरिमा घटाइरहेको छ । प्रधानमन्त्री शाहको नामा भएको पोस्टको अन्त्यमा लेखिएको छ– बोल्ने स्वतन्त्रता सबैलाई छ तर मनपरी बोल्ने छुट कसैैलाई छैन । जनताले दिएको जिम्मेवारीलाई तमासा बनाउनेहरूलाई अब जनताले नै सही जवाफ दिनेछन् । प्रधानमन्त्री शाहको नाममा आईडी खोलेर गरिएको उक्त पोस्ट सक्कली हो कि नक्कली हो भनेर छानबिन गर्ने दायित्व गृह प्रशासनको हो तर गृहमन्त्री सुधन गुरुङ र उनको टिमले त्यसतर्फ खासै चासो देखाएको पाइएको छैन । त्यो पोस्ट अहिले स्वयम् प्रधानमन्त्री शाहकै लागि चुनौतीको विषय बनेको छ ।
सर्वसाधारणले सामाजिक सञ्जालमा फर्जी सूचना वा भ्रमपूर्ण समाचार, स्टाटस लेखेको खण्डमा प्रहरीको साइबर ब्युरोले पक्राउ गरेर मुद्दा चलाउने गर्दै आएको छ । त्यस्तो कारबाहीमा नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय समेत परिसकेका छन् । समाचार र पोस्ट नबुझ्ने प्रहरीले आफूसँग असहमत हुने पत्रकारहरूलाई समेत पक्राउ गर्ने, बयान लिने, मुुद्दा चलाउनेलगायतको हर्कत गर्दै आएको छ । तर दुई तिहाई बहुमतको इतिहासकै शक्तिशाली प्रधानमन्त्री शाहको नाममा खोलिएको उक्त फेक आईडी र त्यसका नामबाट गरिएको उक्त अस्वाभविक पोस्टका बारेमा गृह–प्रशासन कानमा तेल हालेर बस्नुले त्यो किर्ते काम कतै गृह–प्रशासनकै निर्देशन वा संलग्नता वा संरक्षणमा भएको हो कि भन्ने गम्भीर आशंका पैदा भएको छ ।
प्रधानमन्त्री बालेनको फोटोसहितको नाममा खोलिएको उक्त आईडीबाट भएको पोस्टमा कसैको नाम उल्लेख नभए पनि रास्वपाका सांसद खगेन्द्र सुनारप्रति लक्षित रहेको सहजै अनुमान लगाउन सकिन्छ । किनभने साङ्लोबाट फुत्किएर सांसद बनेका व्यक्ति उनै हुन् । केही दिनअघि संसदीय समितिका एउटा बैठकमा सांसद सुुनुवार र आईजीपी दानबहादुर कार्कीबीच भनाभन भएको थियो ।
प्रधानमन्त्री बालेनको नाममा भएको उक्त पोस्टमा सांसद बनाएर भुल गरिएको प्रसङ्ग उनैप्रति हो कि भन्ने आशंका गरिएको छ । तर सांसद सुनुवारले समितिमा बालेनको उक्त विषयमा प्रधानमन्त्री शाहले अन्यत्र कतै मुख नखोलेका कारण उक्त पोस्ट नै नक्कली हो कि भन्ने आशंका बढेको हो । प्रधानमन्त्री बालेनका नामबाट भएको उक्त पोस्टलाई आईजीपी कार्कीले सेयर गरेको विषयलाई चाहिँ अस्वाभाविक भन्न पनि मिल्दैन । आईजीपीले सेयर गर्न दिएको निर्देशन पनि अन्यथा मान्न सकिँदैन ।
आफूविरुद्ध लागेको व्यक्तिको विरोधमा प्रधानमन्त्रीले गरेको पोस्ट सेयर पाहिएपछि जसले पनि सेयर गर्ने गर्दछ । तर प्रधानमन्त्री शाहले त्यस विषयमा मौन रहेको, बोल्दै नबोलेका कारण पोस्ट नै फेक हो कि भन्ने आशंका गरिएको हो । नेपाल प्रहरीले हेडक्वाटरबाटै ‘आईटी सेल’ चलाएको छ र त्यसको नेतृत्व एसपी धर्मराज भण्डारीले गरेका छन् । त्यो विषय त्यहीँबाट पनि पत्ता लाग्न सक्दछ । तर त्यसले पनि सत्यतथ्य खोज्ने प्रयास गरेको पाइएको छैन ।
प्रधान कार्यालयमा कन्टेन क्रिएटरका एउटा टोली पनि क्रियाशील रहेको छ । प्रहरी निरीक्षक बुद्धि सुवेदीको नेतृत्वको उक्त टोलीमा असईहरू आशिष राई, सुदिप आचार्य, विद्या घले, हवल्दार दीपक सुनार, सहायक हवल्दारहरू कमल थपलिया, सन्तोष सापकोटा र जवानहरू सुक बहादुर चौधरी, प्रदीप बस्नेत, शिवकुमार फुयाँल, राम सहाय राय, कृष्ण भण्डारी, लाक्पा दोर्जे लामा र गिरिजा गुरुङ रहेका छन् । उनीहरू त्यसमा एकसे एक मानिन्छन् । साइबर ब्युरोले नगरे नभ्याए उनीहरूबाटै पनि त्यसको खोजबिन हुन सक्ने अवस्था रहेको छ । तर प्रधानमन्त्री शाहको नाममा भएको त्यस्तो रहस्यमय पोस्टको बारेमा गृह–प्रशासनले छाबिन नै नगर्नुले शंकाको सुई गृह–प्रशासनतिरै सोझिएको हो ।