काठमाडौं, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउन्टर सेवा सञ्चालनमा आएको छ । बैंकका अनुसार सोमबारदेखि कार्यालय समयका अतिरिक्त थप एक घण्टाको लागि सन्ध्याकालीन काउन्टर सेवा सञ्चालनमा ल्याइएको हो । सन्ध्याकालीन काउन्टरमा चेक भुक्तानी, नगद जम्मा लगायतका सिमित बैंकिङ्ग सेवाहरू उपलब्ध हुनेछन् ।
बैंकको सिंहदरबार प्लाजास्थित कर्पोरेट शाखामार्फत सन्ध्याकालीन काउन्टर सेवा सञ्चालनमा आएसंगै अब उप्रान्त ग्राहकले बेलुका ५ः०० बजेदेखि ६ः०० बजेसम्म सिमित बैंकिङ्ग सेवा लिन सक्नेछन् । यो सुविधासंगै ग्राहकले नियमित कार्यालय समयमा सम्पन्न गर्न नसकेका अत्यावश्यकीय कारोबारलाई सम्पन्न गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
विसं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल सातवटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी तीन सय १६ वटा शाखा कार्यालयहरू तथा तीन सय ३८ वटा एटीएम टर्मिनलमार्फत ४८ लाखभन्दा बढी ग्राहकलाई निक्षेप, कर्जासहित एटीएम, मोबाइल बैंकिङलगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरू उपलब्ध गराइरहेको छ ।