हरेक कुरामा विगतको भन्दा नयाँ र वास्तवमा नै परिवर्तनको अनुभूति गराउने भनेर वचनबद्ध रहेको दुईतिहाइको संख्यामा रहेको सकारले खासगरी नागरिकका सरोकार राख्ने विषयमा पुरानाले जेनतेन व्यवस्थापन गरेको जति पनि ऐले नगरिदिंदा जीवन निर्वाह झन्झन् कष्टकर बन्दै गएको देखिन्छ । दुई हप्ता अघिमात्रै पूर्वको जंक्सन भनेर चिनिने इटहरी चोककी एक आठ वार्षीय बालिका सर्वद्वम्शको औषधिका अभावले मृत्युवरण गर्न बाध्य भइन् । बितेको पाँच महिनादेखि यतिबेलासम्म जीवन रक्षक औषधि देशभरिकै अस्पतालमा नपाइएर भारतीय बजारमा खोज्नुपर्ने अवस्थामा छन् पीडितहरू । धानबाली लगाउने बेलामा मलको अभाव त्यसबेला नै प्रकट भइसकेका थिए । पाँच बोरा मल चाहिने ठाउँमा तीन किलो दिएर किसानलाई झारा टारिएको कुरा साह्रै धेरै भएको छैन ।
सरकार आफैँले बिथोलेका जीवनहरू अझैसम्म आवासविहीनै छन् । सरकराले गरेको पहिलो काम नै सुकुमबासीलाई उठिवास लगाउनु रहेको थियो । सरकारको आयु छ महिनाको भयो अर्थात् यतिका दिनसम्म आफैँले विस्थापित गरेकाहरूलाई अझै पुनःस्थापित गर्न सकेको छैन । ती नागरिक कति बिचल्नीमा होलान् भन्ने अनुमान गर्न सकिन्छ । यसमाथि पछिल्लोसमय त भोटेकोशी बाढी पनि थपिएको छ । त्यहाँ सरकारले गरेको उद्धारको काम जगजाहेर नै छ । लाश पहिचान नहुन्जेलसम्म पनि राख्नसमेत नसेकर नफन गरिएको घटना उल्लेख भइरहनु नपर्ला ।
यही मेसोमा सरकारले थाह नपाएको दशैँ यता बजारले भने लागू गरिसकेको अर्थात् भइसकेको देखियो । बजारले पत्तोपाएको देखिएको भनेको अचकाली महँगी हो । ग्यासको अभावका बारे अब धेरै उल्लेख भइरहनुपर्ने अवस्स्था छैन । सरकारकै भनाइमा ग्यास पर्याप्त आइरहेको छ तर नागरिक एउटा सिलिन्डर पाउन हप्प्ता दिन लाइनमा बसेका समाचार आइरहेका छन् । खानापकाउने इन्धनको यस्तो अभाव सरकार संगसंगैको हो । यसको अभाव नहट्दै चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको बजारभाउ छोइनसक्नुको भइसकेको छ । अब त सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन अपिलसमेत गर्न कुनै जाँगर लाग्ने स्थिति रहेन ।
किनभने यतिबेला सरकारले बजार होइन बजारले सरकार नियन्त्रणमा लिएको देखिन्छ । एउटा अन्डाको भाउ साउन र भादौमा मात्रै आठपटक बढाइएका विवरण सरकालाई थाह भएको देखिएन । चिनी प्रत्येक घरमा प्रयोग हुने वस्तु हो । त्यसमाथि चाहाडपर्वका बेला त यो वस्तु धेरै नै प्रयोग हुन्छ । यतिबेला यो चिनी किलोको १७० सम्म पुगेको छ । यसअघि सय रुपैयाँको हाराहारीमा हुन्थ्योे । बजारले यो वस्तुको मूल्यमा एक केजीमै ६०–७० रुपैयाको दरले बढायो । बजार सरकारको नियन्त्रणमा रहेको थियो भने यस्तो हुने कारण थिएन । बजारले सरकारको नियन्त्रण गरेका कारण यो स्थिति आएको बुझ्न सकिन्छ । जब बजारले सरकारको नियन्त्रण गर्छ भने त्यहाँ अभाव र महँगीको कुरा सुन्ने कोही हुँदैन । अहिले भएको त्यही हो ।
चाडपर्व नजिकिँदै गर्दा यसअघिका सरकारहरूले कम्तीमा नागरिकका कुरा त सुन्थे बजारको अनुगमन हुन्थ्यो तर अहिले त आफूहरूलाई अरुभन्दा जान्ने भनिँदाभनिँदै हालत यति बिग्रियो कि बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बजार आफैँले तोक्न थाले । एक महिनामै चामलको मूल्य प्रतिबोरा चार सय रुपैयाँसम्म बढेको अवस्था छ । खानेतेल, दाल, चिनी, तरकारी, फलफूल र अन्डाको मूल्य पनि निरन्तर उकालो लागेको स्थितिले चुल्हो कति महगो भयो होला भन्ने अनुमान गर्न सकिन्छ । पछिल्लो समय त सरकारले बाढीपहिरोका कारण सडक तथा ढुवानी अवरुद्ध हुँदा तरकारी र फलफूलको आपूर्ति प्रभावित भएको भनेर मुख छोप्न पाएको हुनुपर्छ । उपत्यकामा एक महिनायता सबभन्दा बढी खपत हुने वस्तु प्रतिकेजी ४०–५० रुपैयाँका दरले भाउ बढ्नु भनेको सामान्य कुरा होइन । वर्षाको समय जहिले पनि बाटाहरू अवरुद्ध हुन्छन् । त्यही निहुबाट बजार यो रुपमा महँगिएको यसअघि विरलै मात्र थियो होला । यस्तो अवस्था बजारले सरकार नियन्त्रण गरेपछि मात्र हुन्छ । अहिले त त्यस्तो सरकार पनि नभएको जस्तो देखियो ।