काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार तथा पर्यटन क्षेत्रमा लगानी आकर्षित गर्न विभिन्न मुलुकका उच्चपदस्थ अधिकारीसँग छलफल गरेका छन् ।
बेलायतको लन्डनमा नोभेम्बर ३ देखि ५ सम्म आयोजना भइरहेको वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) २०२६ मा सहभागी हुने क्रममा मन्त्री पौडेलले भारत, संयुक्त अरब इमिरेट्स (यूएई) र श्रीलंकाका पर्यटनसम्बन्धी अधिकारीसँग भेटवार्ता गरेका हुन् । उनले भारतका संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शेखावत, यूएईका अर्थ तथा पर्यटनमन्त्री अब्दुल्लाह बिन तुक अल मारी, श्रीलंकाका सहायक पर्यटनमन्त्री प्रा. रुवन रणतुङ्गे तथा भारतीय राज्यसभा सदस्य एवं लेखिका सुधा मूर्तिसँग अन्तरक्रिया गरेका थिए । भेटवार्तामा द्विपक्षीय पर्यटन सहकार्य, हवाई सम्पर्क विस्तार, पर्यटक आवागमन वृद्धि, सांस्कृतिक आदानप्रदान तथा पर्यटन क्षेत्रमा लगानी र निजी क्षेत्रबीचको साझेदारी विस्तारका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री पौडेलले अन्तर्राष्ट्रिय साझेदारी र लगानीमार्फत नेपालको पर्यटन क्षेत्रलाई आर्थिक समृद्धि तथा रोजगारी सिर्जनाको प्रमुख आधार बनाउनुपर्ने बताए । नेपाललाई सुरक्षित, आकर्षक र प्रतिस्पर्धी पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न छिमेकी तथा अन्य साझेदार मुलुकसँगको सहकार्यलाई परिणाममुखी बनाइने उनको भनाइ थियो । डब्ल्यूटीएममा नेपालले दिगो तथा जिम्मेवार पर्यटन, हिमाली साहसिक गतिविधि, सांस्कृतिक सम्पदा, आध्यात्मिक तथा वेलनेस पर्यटनलाई प्राथमिकताका साथ प्रस्तुत गरेको छ ।
सन् २०२७ लाई नेपाल वेलनेस पर्यटन वर्षका रूपमा प्रवद्र्धन गर्ने तयारीअनुसार योग, ध्यान, मानसिक शान्ति, आध्यात्मिकता र प्राकृतिक उपचारमा आधारित पर्यटन उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने प्रयाससमेत गरिएको छ । मन्त्री पौडेलले नेपाल प्याभिलियन उद्घाटन गरेका थिए । नेपाल पर्यटन बोर्डसहित सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, वायुसेवा कम्पनी, होटल, ट्राभल तथा टुर अपरेटर सहभागी नेपाली टोलीले मेलामा नेपालको पर्यटन प्रवर्द्धन गरिरहेको छ । मेलामा ३२ नेपाली पर्यटन कम्पनीले एन८–५३० नम्बरको स्टलबाट आफ्ना सेवा, गन्तव्य तथा पर्यटकीय उत्पादन प्रदर्शन गरिरहेका छन् । विश्वका प्रमुख पर्यटन व्यवसायी, अन्तर्राष्ट्रिय ट्राभल बायर, सञ्चारमाध्यम तथा पर्यटन सेवा प्रदायक सहभागी हुने डब्ल्यूटीएमलाई नेपालले नयाँ बजार खोज्ने र व्यावसायिक साझेदारी विस्तार गर्ने अवसरका रूपमा उपयोग गरेको छ ।
यसैबीच, नेपालले हालैका बाढीपहिरोबाट प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणका काम जारी रहे पनि काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, अन्नपूर्ण र सगरमाथालगायत प्रमुख पर्यटकीय गन्तव्यमा स्थानीय अवस्था र यात्रा परामर्शअनुसार पर्यटन गतिविधि सञ्चालन भइरहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा दिएको छ । ‘नेपाल खुला छ’ अभियानमार्फत नेपाल भ्रमणले स्थानीय व्यवसाय, रोजगारी तथा पर्यटनमा निर्भर समुदायको जीविकोपार्जनमा सहयोग पुर्याउने सन्देशसमेत प्रवाह गरिएको छ । डब्ल्यूटीएममा भएको उच्चस्तरीय सहभागिता र भेटवार्तालाई नेपालको पर्यटन बजार विस्तार, पर्यटक आगमन वृद्धि तथा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्ने प्रयासका रूपमा हेरिएको छ ।