काठमाडौं, नेपालमा बाल क्यान्सर उपचारका लागि थप प्रभावकारी समन्वय, उपचारमा पहुँच विस्तार तथा अझ एकीकृत राष्ट्रिय दृष्टिकोण अवलम्बन गर्न सरोकारवालाहरुले जोड दिएका छन् ।
बाल क्यान्सर उपचारसम्बन्धी राष्ट्रिय गोष्ठीमा सहभागीहरुले बाल क्यान्सरलाई राष्ट्रिय स्वास्थ्य प्राथमिकतामा थप महत्व दिनुपर्नेमा जोड दिएका थिए । यस्तै क्यान्सर नियन्त्रण तथा सार्वभौमिक स्वास्थ्य पहुँचसम्बन्धी प्रयासमा यसलाई थप प्रभावकारी रूपमा समेट्नु पर्ने उनीहरुको भनाइ थियो । गोष्ठीले स्पष्ट जिम्मेवारी, मापनयोग्य लक्ष्य र निश्चित समयसीमा सहित बाल क्यान्सरसम्बन्धी समन्वित राष्ट्रिय कार्ययोजना आवश्यक रहेको निष्कर्ष निकालेको छ । समुदायस्तरमा जनचेतना अभिवृद्धि, स्वास्थ्य सेवाको पहिलो तहमा कार्यरत स्वास्थ्यकर्मीको क्षमता विकास, बिरामीलाई तत्काल सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने प्रभावकारी प्रणाली, निदान सम्बन्धी सेवा सुदृढीकरण तथा विशेषज्ञ उपचारमा परिवारले भोग्दै आएका कठिनाइ कम गर्न क्षेत्रीय र साझा उपचार सञ्जाल विकास गर्नुपर्ने सुझाव दिइएको थियो ।
गोष्ठीमा बालबालिकाको आवश्यकता र परिवारको भूमिकालाई केन्द्रमा राख्दै गुणस्तरीय उपचार सेवा सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको थियो । आवश्यक औषधि तथा रगतजन्य सामग्रीको सहज र नियमित उपलब्धता, बाल क्यान्सर उपचारमा संलग्न नर्सिङ जनशक्तिको क्षमता विकास, किमोथेरापी तथा संक्रमण नियन्त्रणसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन, पोषण र मानसिक स्वास्थ्यसम्बन्धी सहयोग बढाउनुका साथै दुखाइ र असहजता कम गर्ने उपचार तथा उपचारपछि दिइने सेवामा सुधार गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।