काठमाडौं, नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मार्फत दुर्लभ तथा संकटापन्न वन्यजन्तु रेड पान्डा (हाब्रे)को बासस्थान संरक्षणमा सहयोग गर्ने भएको छ । ‘एभ्री बाउन्ड्री काउन्ट्स’ अभियानअन्तर्गत इसेवाले प्रतियोगितामा प्रहार हुने प्रत्येक छक्काबापत दुई हजार रुपैयाँ र प्रत्येक चौकाबापत एक हजार रुपैयाँ योगदान गर्ने घोषणा गरेको हो । यस अभियानमा करसहित अधिकतम १० लाख रुपैयाँसम्म योगदान गरिनेछ ।
एनपीएलको आधिकारिक टिकटिङ साझेदारसमेत रहेको इसेवाले रेड पान्डा नेटवर्क र रेड पान्डा नेटवर्क नेपालसँगको सहकार्यमा उक्त अभियान सञ्चालन गर्न लागेको हो । यसका लागि तीनवटै संस्थाबीच त्रिपक्षीय साझेदारी भएको छ । एनपीएलमा प्रहार हुने चौका र छक्काबाट संकलित रकम रेड पान्डाको प्राकृतिक बासस्थान पुनस्र्थापना तथा स्थानीय समुदायका लागि रोजगारी सिर्जना गर्न उपयोग गरिनेछ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयूसीएन) को रातो सूचीमा संकटापन्न प्रजातिका रूपमा सूचीकृत रेड पान्डाको दीर्घकालीन संरक्षणका लागि यसको प्राकृतिक बासस्थानको सुरक्षा र पुनर्स्थापना महत्वपूर्ण मानिन्छ ।
अभियानअन्तर्गत रेड पान्डाको बासस्थान रहेको इलाम र पाँचथरका सामुदायिक वन क्षेत्रमा सन् २०२७ को जुन–जुलाईमा संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा स्थानीय प्रजातिका बिरुवा रोप्ने, रोपिएका बिरुवाको संरक्षण तथा हेरचाह गर्ने र वन्यजन्तुमैत्री वातावरण पुनस्र्थापना गर्ने कार्य समावेश हुनेछन् ।
यस अभियानमार्फत करिब १० हेक्टर क्षतिग्रस्त वन क्षेत्र पुनर्स्थापना गर्ने, १० हजार स्थानीय प्रजातिका बिरुवा रोप्ने तथा स्थानीय समुदायका लागि करिब छ सय श्रमदिन बराबरको पारिश्रमिकसहितको रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । सिर्जना हुने रोजगारीका अवसरमा महिलालाई प्राथमिकता दिइनेछ । अभियानबारे जानकारी दिँदै इसेवाका प्रमुख रणनीति अधिकृत रवि शाक्यले नेपाल प्रिमियर लिग देशभरका क्रिकेटप्रेमीका लागि ठूलो उत्सव भएको उल्लेख गर्दै खेलको उत्साहलाई प्रकृति संरक्षणसँग जोड्ने प्रयास गरिएको बताए ।
“नेपाल प्रिमियर लिग देशभरका क्रिकेटप्रेमीका लागि एउटा ठूलो उत्सव हो । एनपीएलमा प्रहार हुने हरेक चौका र छक्काबापत रेड पान्डाको बासस्थान संरक्षणमा सघाउँदै खेलको उत्साहलाई प्रकृति संरक्षणमा रूपान्तरण गर्ने प्रयास गरेका छौँ’, शाक्यले भने । उनले यस अभियानमार्फत खेलकुदको सकारात्मक प्रभावबाट जैविक विविधताको संरक्षण र स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पु¥याउने लक्ष्य रहेको बताए । क्रिकेटप्रेमीको साझा उत्सवले संरक्षणको क्षेत्रमा पनि अर्थपूर्ण योगदान पुर्याउने विश्वास उनले व्यक्त गरे । त्यसैगरी, रेड पान्डा नेटवर्कका कार्यकारी निर्देशक आङ फुरी शेर्पाले क्रिकेटको लोकप्रियतालाई रेड पान्डा संरक्षणसँग जोड्न इसेवासँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । यस सहकार्यले संरक्षण र समुदायको हितमा काम गर्न थप प्रोत्साहन मिलेको उनको भनाइ छ ।
रेड पान्डा नेटवर्क नेपालका अध्यक्ष डा. शैलेन् द्रबहादुर थकालीले क्रिकेटको ऊर्जालाई रेड पान्डाको भविष्यसँग जोडेकोमा इसेवाप्रति आभार व्यक्त गरे । उनले यस सहकार्यले रेड पान्डाको बासस्थान संरक्षण र हरित रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । इसेवाका अनुसार यस अभियानले खेलकुदमार्फत जैविक विविधताको संरक्षणमा योगदान पु¥याउनुका साथै संरक्षण कार्यमा स्थानीय समुदायको सहभागिता र जीविकोपार्जनका अवसर सिर्जना गर्न सहयोग गर्नेछ ।
एनपीएल अवधिभर प्रत्येक चौका र छक्काबाट जम्मा भएको योगदानको विवरण इसेवाको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ । डिजिटल भुक्तानीको क्षेत्रलाई वातावरण संरक्षण र सामुदायिक हितसँग जोड्दै जिम्मेवार व्यावसायिक अभ्यासलाई निरन्तरता दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको इसेवाले जनाएको छ ।