काठमाडौं, एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तार अभियानलाई निरन्तरता दिँदै सुदूरपश्चिम प्रदेशको कैलालीस्थित धनगढी उपमहानगरपालिका–८, क्याम्पस चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखासँगै बैंकको देशभर शाखा संख्या एक सय ३४ पुगेको छ भने सुदूरपश्चिम प्रदेशमा बैंकका शाखाको संख्या १५ पुगेको छ ।
बैंकले सोमबार क्याम्पस चोकमा आफ्नै भवनमा शाखा कार्यालय स्थापना गर्नुका साथै सुदूरपश्चिम प्रदेशको नयाँ भवनको समेत उद्घाटन गरेको हो । उक्त अवसरमा बैंकले प्रदेशस्थित आफ्नो प्रादेशिक कार्यालयसमेत हालको स्थानबाट स्थानान्तरण गरी नयाँ भवनबाट सम्पूर्ण सेवा प्रदान गर्ने जनाएको छ । नयाँ भवन तथा शाखाको उद्घाटन धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र एभरेष्ट बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यले संयुक्त रूपमा गरेका थिए ।
उद्घाटन समारोहमा धनगढी उपमहानगरपालिका–८ का वडा अध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख यज्ञराज तिमिल्सिना, विभिन्न उद्योगी–व्यवसायी, बैंकका कर्मचारी तथा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको बैंकले जनाएको छ ।
क्याम्पस चोकमा बैंकको आफ्नै भवनबाट शाखा सञ्चालनमा आएसँगै यस क्षेत्रका सर्वसाधारण, व्यवसायी तथा संस्थागत ग्राहकलाई बैंकिङ सेवा लिन थप सहज हुने अपेक्षा गरिएको छ । नयाँ शाखाले स्थानीयस्तरमा वित्तीय पहुँच विस्तार गर्नुका साथै धनगढी तथा आसपासको आर्थिक गतिविधिलाई थप गतिशील बनाउन योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ । एभरेष्ट बैंकले शाखा विस्तारमार्फत विभिन्न क्षेत्रका ग्राहकलाई सहज, सुरक्षित तथा आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आफ्नो सेवा सञ्जाल विस्तार गर्दै आएको जनाएको छ ।