काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघले नेपाल र युरोपेली संघ (ईयू) बीचको आर्थिक सम्बन्धलाई व्यापार, लगानी, प्रविधि हस्तान्तरण र निजी क्षेत्र साझेदारीमा थप केन्द्रित गर्न आग्रह गरेको छ ।
महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि युरोपेली संघका राजदूत चाल्र्स ह्वाइटलीबीच भएको भेटमा महासंघका अध्यक्ष श्रेष्ठले नेपालका लागि ईयू महत्वपूर्ण विकास तथा व्यापार साझेदार रहेको बताए । नेपालको निजी क्षेत्रको क्षमता विकास, निर्यात विस्तार, लगानी प्रवद्र्धन र दिगो आर्थिक विकासमा ईयूको निरन्तर सहयोग आवश्यक रहेको उनले बताए । नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुने चरणमा रहेकाले त्यसपछिको संक्रमणलाई सहज बनाउन व्यापार सहजीकरण, नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि, परीक्षण तथा प्रमाणीकरण पूर्वाधार, प्राविधिक मापदण्ड र निर्यात विविधीकरणमा ईयूको थप सहयोग आवश्यक रहेको उनको भनाइ थियो । नेपाली तयारी पोसाक, गलैंचा, फेल्ट, पश्मिना, चिया, कफी, मसला, हस्तकला तथा वनस्पतिजन्य उत्पादनको युरोपेली बजारमा पहुँच विस्तारका लागि युरोपेली मापदण्ड, गुणस्तर, ट्रेसिबिलिटी र दिगोपनसम्बन्धी क्षमता अभिवृद्धिमा सहकार्य गर्न महासंघले आग्रह गरेको छ ।
महासंघले नेपालमा युरोपेली लगानी आकर्षित गर्न जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन, सूचना प्रविधि तथा बीपीओ, उत्पादनमूलक उद्योग, कृषि प्रशोधन, पूर्वाधार र डिजिटल सेवामा पर्याप्त सम्भावना रहेको जनाएको छ । लगानी वातावरण सुधारका लागि नीतिगत स्थिरता, प्रभावकारी सरकारी सेवा, भन्सार प्रक्रियाको सरलीकरण तथा नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको अध्यक्ष श्रेष्ठको भनाइ थियो । भेटमा राजदूत चार्ल्स ह्वाइटलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि ईयूको निरन्तर साथ र सहयोग रहने बताए । नेपाल एलडीसीबाट स्तरोन्नतिको महत्वपूर्ण चरणमा रहेकाले त्यसका लागि आवश्यक तयारी, संक्रमण व्यवस्थापन तथा दिगो आर्थिक विकासमा ईयूले सहयोगलाई निरन्तरता दिने उनले बताए । नेपाल–ईयू सम्बन्धलाई विकास सहयोगमा मात्र सीमित नराखी व्यापार, लगानी, प्रविधि, निजी क्षेत्र तथा आर्थिक साझेदारीका क्षेत्रमा थप विस्तार गर्न सकिने उनको भनाइ थियो ।