काठमाडौं, रमाडा बाइ विन्डह्याम इटहरीले पाँच दिने दशैँ होम कमिङ कार्निभल आयोजना गर्ने भएको छ । पूर्वी नेपालको संस्कृति, स्वाद, प्रतीभा, स्थानीय उत्पादन तथा आफ्ना मानिसहरूको उत्सव मनाउने गरी कार्निभल आयोजना गर्न लागिएको हो ।
दृश्य सी द अनसिनको सहकार्यमा आयोजना हुने यो कार्निभल अक्टोबर ६ देखि अक्टोबर १० सम्म आरिया लनमा सञ्चालन हुनेछ । यसको मुख्य आकर्षण भने अक्टोबर १० मा हुने साइग्रेससँगको विशेष भेटघाट तथा मीट एन्ड ग्रीट रहनेछ । दशैँका बेला घर फर्किने खुशी र आत्मीयतालाई केन्द्रमा राखेर आयोजना गरिएको यस कार्निभलले परिवार तथा आफन्तहरूलाई एकसाथ भेला भई पुनर्मिलन गर्न, चाडपर्व मनाउन र पूर्वी नेपालको जीवन्तता अनुभव गर्ने अवसर प्रदान गर्नेछ ।
हरेक साँझ बेलुका ५ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने कार्यक्रममा यस क्षेत्रसँग जोडिएका कलाकारहरूको लाइभ प्रस्तुति, स्थानीय स्वाद झल्काउने विभिन्न लाइभ फुड स्टेसन, रमाइला गतिविधि, फेस पेन्टिङ तथा लाइभ क्यास बारको व्यवस्था रहनेछ । यसले उत्सवको माहोलसँगै घर फर्किएको आत्मीय अनुभूति पनि प्रदान गर्नेछ ।
कार्निभलको सुरुवात अक्टोबर ६ मा प्याराडाइज नेपालको लाइभ प्रस्तुतिबाट हुनेछ। त्यसपछि अक्टोबर ७ मा हाम्रो आवाज, अक्टोबर ८ मा रोयस तामाङ र अक्टोबर ९ मा प्रविन राईको प्रस्तुति रहनेछ । यी चार दिनका लागि प्रवेश शुल्क प्रति व्यक्ति १ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ ।
कलाकारहरूको प्रस्तुति बेलुका ६ बजेदेखि सुरु हुनेछ भने लाइभ फुड स्टेसनहरू बेलुका ७ बजेदेखि सञ्चालन हुनेछन् । कार्निभलको समापन प्रवेश शुल्क भने १ हजार ९९९ रहनेछ भने लाइभ फुड स्टेसनहरू राति ८ः३० बजेदेखि सञ्चालन हुनेछन् ।