दोलखा, नेपालको स्विट्जरल्यान्डका रूपमा परिचित दोलखाको पर्यटकीय नगरी जिरीमा खेलकुदलाई पर्यटनसँग जोड्दै आन्तरिक पर्यटक प्रवर्द्धन गर्न फुटबल प्रतियोगिता आयोजना गरिएको छ ।
खेलकुदको विकाससँगै जिरीको पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि बढाउने उद्देश्यले बिहीबारदेखी ५ ‘ए’ साइड खुला फुटबल प्रतियोगिता सुरु गरिएको हो । कात्तिक २१ गतेसम्म जिरी प्राविधिक शिक्षालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा दोलखा र रामेछापका खुला, महिला तथा ४० वर्षमाथिका भेट्रान्स विधाका गरी ४० टिम सहभागी भएका छन् । प्रतियोगिताको जिरी नगरपालिकाका प्रमुख मित्रबहादुर जिरेलले उद्घाटन गरेका थिए । प्राकृतिक सौन्दर्य, चिसो हावापानी, हरियाली र मनोरम हिमाली दृश्यका कारण पर्यटकको रोजाइमा पर्दै आएको जिरीमा खेलकुद गतिविधिमार्फत पर्यटनको नयाँ सम्भावना खोज्न प्रतियोगिता आयोजना गरिएको युवा सञ्जाल जिरीका कोषाध्यक्ष तथा खेल व्यवस्थापक ईश्वर कार्कीले बताए । खेल प्रतियोगिताले खेलाडी, दर्शक र खेलप्रेमीलाई जिरीसम्म ल्याउने तथा यहाँको पर्यटकीय पहिचानलाई थप प्रचारप्रसार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा खुलातर्फ विजेता टोलीले ४० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र तथा उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिलातर्फ विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै, ४० वर्षमाथिका (भेट्रान्स)विधाका विजेता र उपविजेता टोलीलाई एक–एकवटा खसी प्रदान गरिने आयोजकले जनाएको छ । यस विधामा आठ टिम सहभागी छन् भने महिलातर्फ पाँच टिमले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको फाइनलका दिन चेर्दुङ कला मञ्च जिरीको देउसीभैलोसहित विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएको छ । खेलसँगै सांस्कृतिक कार्यक्रमले जिरीको कला, संस्कृति र स्थानीय पहिचानको प्रचारमा थप टेवा पुग्ने विश्वास आयोजकको रहेको छ ।
प्रतियोगिताबाट संकलन भएको रकम तिहारपछि जिरीमा स्पोट्र्स एकेडेमी स्थापना गर्न खर्च गरिने जनाइएको छ । एकेडेमीमार्फत १६ वर्षमुनिका बालबालिकालाई फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टनलगायत विभिन्न खेलको नियमित प्रशिक्षण दिने योजना रहेको छ । पर्यटन व्यवसायी लिलाराम खड्काले विभिन्न गतिविधिसँग जोडेर पर्यटनलाई प्रवर्द्धन गर्नुपर्ने बताए । निर्माण व्यवसायी संघ जिरी, एक्स्प्लोर नेपाल नेटवर्क र युवा सञ्जाल जिरीको आयोजनामा भएको प्रतियोगितामा जिरी नगरपालिका सहआयोजक रहेको छ ।