काठमाडौं । मधेश प्रदेश सरकारमा सहभागी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का चार जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहा र गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो रहेका छन् ।
मुख्यमन्त्री कृष्णप्रसाद यादव काठमाडौंमा रहेकाले चारै जना मन्त्रीले ह्वाट्सएपमार्फत राजीनामापत्र पठाएका हुन् । एक मन्त्रीका अनुसार उनीहरूले राजनीतिक निकासका लागि राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।
‘राजनीतिक निकासका लागि हामी नेपाली कम्युनिस्ट पार्टीका तपसिलका मन्त्रीहरूको सामूहिक राजीनामा पेस गर्दछौँ’, राजीनामापत्रमा भनिएको छ, ‘यहाँले गर्नुभएको सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।’
यसैबीच नेकपाले मधेश प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । पार्टीले समर्थन फिर्ता लिएको औपचारिक पत्र प्रदेश प्रमुखसमक्ष बुझाएको हो ।नेकपाका चार मन्त्रीको सामूहिक राजीनामा र सरकारलाई दिएको समर्थन फिर्तासँगै मधेश प्रदेशको राजनीतिक समीकरणमा नयाँ परिस्थिति सिर्जना भएको छ ।