काठमाडौँ, संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले नेपालका बालबालिकामा बढ्दो जलवायु तथा वातावरणीय जोखिम न्यूनीकरण गर्न बालबालिकामैत्री जलवायु कार्यमा थप लगानी गर्न सरकारलाई सुझाव दिएको छ ।
युनिसेफले बिहीबार सार्वजनिक गरेको नयाँ पैरवी प्रतिवेदनमा नेपालका लाखौँ बालबालिका जलवायु परिवर्तन, वातावरणीय प्रदूषण तथा विपद्का जोखिमबीच हुर्किरहेको उल्लेख गरेको छ । यसले उनीहरूको स्वास्थ्य, पोषण, शिक्षा, सुरक्षा र भविष्यमा गम्भीर असर पारिरहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले जलवायु परिवर्तनका कारण बालबालिकाको वर्तमान र भविष्य प्रभावित भइरहेको उल्लेख गर्दै जलवायुसम्बन्धी नीति, बजेट तथा कार्यक्रम निर्माण गर्दा बालबालिकालाई केन्द्रमा राखेर तत्काल कदम चाल्न आग्रह गरेको छ । प्रतिवेदनअनुसार नेपालमा ७३ लाख बालबालिका खडेरीको जोखिममा छन् । यसबाट खानेपानी, जीविकोपार्जन, कृषि उत्पादन र पोषणमा असर पर्ने देखिएको छ । यस्तै, ५७ लाख बालबालिका अत्यधिक गर्मीको जोखिममा छन् भने २९ लाख बालबालिका वर्षाजन्य पहिरोको जोखिममा रहेका छन् । अत्यधिक गर्मीले बालबालिकाको स्वास्थ्य, सिकाइ र दैनिक जीवनमा असर पारिरहेको प्रतिवेदनमा उल्लेख छ ।
जलवायु परिवर्तनले बालबालिकालाई प्रत्यक्ष जोखिममा पार्नुका साथै उनीहरूका लागि आवश्यक आधारभूत सेवामाथि समेत दबाब बढाइरहेको प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनले जलवायु संकटको असर सबै बालबालिकामा समान रूपमा नपर्ने उल्लेख गरेको छ । गरिब परिवारका बालबालिका, बालिका, अपाङ्गता भएका बालबालिका, ऐतिहासिक रूपमा सीमान्तकृत समुदायका बालबालिका तथा दुर्गम र जलवायु जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने बालबालिका बढी जोखिममा रहेको प्रतिवेदनमा जनाइएको छ । यसैबीच, नेपाल सरकारले बालबालिका तथा युवामैत्री जलवायु कार्यलाई अघि बढाउने क्रममा कात्तिक १२ गते सम्पन्न राष्ट्रिय जलवायु सम्मेलनका अवसरमा ‘बालबालिका, युवा तथा जलवायु कार्यसम्बन्धी घोषणापत्र’ औपचारिक रूपमा अनुमोदन गरेको छ ।