काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचारसम्बन्धी मुद्दामा चीनको एक्जिम बैंकबाट लिइएको ऋण, भुक्तानी प्रक्रिया र किस्तागत विवरण पेस गर्न आदेश दिएको छ ।
शुक्रबार (कात्तिक २० गते) भएको सुनुवाइपछि विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइराला सम्मिलित इजलासले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट ऋण र त्यसको भुक्तानी प्रक्रियासम्बन्धी सम्पूर्ण विवरण झिकाउन आदेश दिएको हो ।
त्यस्तै, भुक्तानी हुन बाँकी रकमको विवरण नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पेस गराउन अदालतले आदेश दिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा चिनियाँ निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले भुक्तानीका लागि दाबी गरेका बिल तथा भरपाइ र हालसम्म भुक्तानी भएको रकमको विवरणसमेत अदालतले माग गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार १६० रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित नेपाली कांग्रेसका नेता एवं तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित उच्च पदस्थ कर्मचारी र चिनियाँ निर्माण कम्पनीविरुद्ध मुद्दा दायर गरेको थियो ।अख्तियारका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच भएको खरिद सम्झौतामा कर, महसुल तथा अन्य शुल्क तिर्ने दायित्व ठेकेदार कम्पनीकै हुने स्पष्ट व्यवस्था थियो । तर, आपसी मिलेमतोमा ठेकेदार कम्पनीलाई कर छुट दिने गरी छुट्टै सम्झौता गरिएको अख्तियारको आरोप छ ।
ठेकेदार कम्पनीले सम्झौताको मूल्यभित्रै कर समावेश गरेर भुक्तानी लिएको र अर्कोतर्फ राज्यलाई तिर्नुपर्ने करसमेत छुट पाएकाले दोहोरो लाभ लिएको अख्तियारको निष्कर्ष छ ।यस प्रकरणमा अख्तियारले तत्कालीन अर्थमन्त्री कार्कीसहित तत्कालीन सचिवहरू शंकरप्रसाद अधिकारी र महेश्वर न्यौपाने तथा पूर्वसहसचिवहरू केवलप्रसाद भण्डारी, सुरेश आचार्य र डण्डुराज घिमिरेविरुद्ध मुद्दा दायर गरेको छ ।
त्यसैगरी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी, तत्कालीन उपसचिव युगराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी र इन्जिनियर योगेश अर्याललाई पनि प्रतिवादी बनाइएको छ । अख्तियारले चिनियाँ निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड, कम्पनीका अध्यक्ष वाङ बो र परियोजना व्यवस्थापक याङ झिगाङविरुद्ध समेत मुद्दा दायर गरेको छ ।