काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन, २०४८ संशोधनका लागि प्रस्तावित अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ । महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको टोलीले आज शीतल निवास पुगेर राष्ट्रपतिसँग भेट गर्दै प्रस्तावित अध्यादेश रोक्न आग्रह गरेको हो ।
समाचार कक्षमै प्रवेश गरेर पत्रकारमाथि धरपकड गरिएको घटनामा सरकारले आवश्यक कारबाही नगरेको अवस्थामा अध्यादेशमार्फत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई थप प्रभावित पार्न खोजिएको महासंघको ठहर छ । यस्तो अवस्थामा राष्ट्रपतिले आफ्नो संवैधानिक विवेक प्रयोग गर्नुपर्ने धारणा महासंघले राखेको छ ।
भेटका क्रममा महासंघले प्रस्तावित अध्यादेशका विभिन्न प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने प्रभावबारे राष्ट्रपतिको ध्यानाकर्षण गराएको जनाएको छ ।सरोकारवाला पक्षसँग पर्याप्त छलफल र परामर्श नगरी संसद्लाई छलेर अध्यादेशमार्फत कानुन ल्याउने प्रयास लोकतान्त्रिक विधि र प्रक्रियाविपरीत हुने महासंघको भनाइ छ ।
महासंघले संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको स्मरण गराउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग प्रत्यक्ष सरोकार राख्ने कानुन निर्माण गर्दा नियमित विधायिकी प्रक्रिया अवलम्बन गर्नुपर्ने धारणा राष्ट्रपतिसमक्ष राखेको जनाएको छ । महासंघका अनुसार प्रेस स्वतन्त्रतासँग सम्बन्धित कानुन निर्माण गर्दा सरोकारवाला पक्षसँग पर्याप्त छलफल र परामर्श गरी संसद्को नियमित प्रक्रियाबाट अघि बढ्नुपर्छ ।