काठमाडौं, ग्लोबल आईएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा शुक्रबार सम्पन्न सभाले आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । पारित लाभांशमध्ये चार प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित छ प्रतिशत नगद लाभांश रहेको छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुगेको छ ।
सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरणसमेत पारित गरेको छ । समीक्षा अवधिमा बैंकले छ अर्ब चार करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५ दशमलव ९० प्रतिशत बढी हो । बैंकको सञ्चालन नाफा भने नौ अर्ब ६० करोड रुपैयाँ रहेको छ । सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सेयरधनी, ग्राहक, नियामक निकाय तथा शुभेच्छुकहरूको निरन्तर साथ र विश्वासका कारण बैंकले दुई दशकको यात्रा सफलतापूर्वक पूरा गर्न सकेको बताए । उनले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकका नीति र निर्देशनको पूर्ण पालना गर्दै बैंकलाई थप सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । ग्राहकलाई थप सहज र अत्याधुनिक सेवा उपलब्ध गराउन डिजिटल बैंकिङ प्रणालीमा लगानी विस्तार गर्ने जानकारीसमेत उनले दिए ।
सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली आवश्यकता अनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ । साधारणसभामा नियमनकारी निकायका प्रतिनिधि, सेयरधनी, संस्थागत लगानीकर्ता तथा सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति थियो । आधुनिक प्रविधि तथा ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दै आएको बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५/२०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरेको जनाएको छ । बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४/२०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयरलगायतका पुरस्कारसमेत प्राप्त गरेको छ ।
ग्लोबल आईएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक रहेको जनाएको छ । बैंकका अनुसार हाल तीन सय ४१ वटा शाखा, तीन सय ६६ वटा एटीएम, एक सय ४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान भइरहेको छ । विदेशबाट वैधानिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउने प्रमुख वित्तीय संस्थाका रूपमा स्थापित बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको जनाएको छ ।
यसैबीच, हालै भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तथा कर्मचारीको एक दिनको तलबबराबरको रकमसहित पाँच करोड ७५ लाख ९२ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ ।