काठमाडौं, नेपाल निर्माण उद्योग परिषद्ले सार्वजनिक खरिद प्रणालीमा औसत दर प्रणाली लागू गराउनु महत्वपूर्ण उपलब्धि भएको जनाएको छ । नेपाल निर्माण व्यवसायी महासंघको पहलमा हासिल उक्त उपलब्धिले मुलुकभरका निर्माण व्यवसायीहरूको दीर्घकालीन समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने परिषद्को भनाइ छ ।
परिषद्का अध्यक्ष बलिभद्र राना नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार महासंघ अध्यक्ष निकालोस पाण्डेलाई भेटी सम्मान समेत व्यक्त गरेको छ । पाण्डे नेतृत्वको कार्य समितिले पूर्वाधार क्षेत्रको समग्र सुधारका लागि देखाएको सक्रियता, दृढ इच्छाशक्ति, समन्वयकारी भूमिका तथा परिणाममुखी कार्य सम्पादनप्रति परिषद्को तर्फबाट बधाइ सहित सम्मान व्यक्त गरिएको परिषद्ले जनाएको छ ।
परिषद्का अनुसार करीब दुई दशक अघिदेखि निर्माण व्यवसायीहरूले उठाउँदै आएका सार्वजनिक खरिद ऐन, २०८३ संशोधनका विषयलाई निर्णायक रुपमा अघि बढाइ व्यवसायीका दीर्घकालीन मागलाई कानूनी रुपमा सम्बोधन गराउन महासंघको वर्तमान कार्य समितिको अहं भूमिका रहेको छ । निर्माण व्यवसायीहरूको मुख्य एजेण्डको रुपमा रहेको सार्वजनिक खरिद प्रणालीमा औसत दर प्रणाली लागू गराउनु पनि वर्तमान कार्य समितिको महत्वपूर्ण उपलब्धि भएको परिषद्को निचोड छ ।
महासंघको वर्तमान कार्य समितिकै पहलमा व्यवसायी अनुकूल हुने गरी सार्वजनिक खरिद नियमावलीको पन्ध्रौं तथा सोह्रौं संशोधन आएको तथा नेपाल राष्ट्र बैंकबाट व्यवसायीमैत्री मौद्रिक नीति जारी भएको परिषद्ले जनाएको छ । सार्वजनिक उत्तर दायित्वबोध गर्दै सामाजिक कार्यमा समेत अर्थपूर्ण सहभागिता जनाइरहेको महासंघ कार्य समितिले स्वदेशी तथा विदेशी मञ्चहरूमा मुलुकको पूर्वाधारका एजेण्डाहरूलाई जोडदार रुपमा प्रस्तुत गरेको परिषद्को भनाइ छ ।
लामो समयअघि देखि विविध प्राविधिक तथा कानूनी समस्याहरू भेल्दै आएका व्यवसायीहरूलाई सम्बन्धित प्रदेशमै समस्या समाधान गर्ने हेतुले सबै प्रदेशमा प्राविधिक तथा कानुनी शाखा स्थापना गर्नु महासंघ वर्तमान कार्य समितिको अर्को महत्वपूर्ण उपलब्धी भएको परिषद्का अध्यक्ष रानाले बताए । राजधानीमा २०८२ चैत्र १९ मा सम्पन्न १३ औं अधिवेशनबाट निकोलस पाण्डेको अध्यक्षतामा महासंघको नयाँ कार्य समिति निर्वाचित भएको थियो ।