काठमाडौं, रेमिट्यान्स कम्पनी तथा यसको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरूले अबदेखि आफ्नो सम्पूर्ण कारोबार विवरण राष्ट्र बैंकमा बुझाउनुपर्ने भएको छ । राष्ट्र बैंकले बुधबार यससम्बन्धी नयाँ व्यवस्था गरेको हो ।
उनीहरुले राष्ट्र बैंकमा पेस गर्नुपर्ने विवरणको ढाँचा परिमार्जन गर्दै विभिन्न विवरण नियमित रूपमा अनिवार्य पठाउनुपर्ने व्यवस्था गरिएको छ । राष्ट्र बैंकको गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ (दोस्रो संशोधनसहित) को विनियम ३३ बमोजिम विभागमा पेस गर्नुपर्ने विवरणको ढाँचा परिमार्जन गरेको हो ।
परिमार्जित विवरणहरू २०८३ कात्तिक महिनादेखि लागू हुनेछन् । नयाँ व्यवस्थाअनुसार विप्रेषण कम्पनीले वा उसका सब–एजेन्ट तथा सब–रिजिष्ट्रेन्टमार्फत गरिएको इन्वार्ड रेमिट्यान्सको भुक्तानीको विवरण विप्रेषण मासिक रूपमा पेस गर्नुपर्नेछ । यस्तो विवरण नेपाली महिनाअनुसार प्रत्येक महिना सकिएको सात दिनभित्र पठाउनुपर्ने व्यवस्था गरिएको छ । यसैगरी विप्रेषण कम्पनीले कारोबार गरेका सब–एजेन्ट तथा सब–रिजिष्ट्रेन्टको विवरण पनि मासिक रूपमा पठाउनुपर्नेछ । उक्त विवरण पनि सम्बन्धित नेपाली महिना सकिएको सात दिनभित्र पेस गर्नुपर्नेछ ।