काठमाडौं, एटिक रेस्टुरेन्ट एन्ड बारले शब्दकिरीसँगको सहकार्यमा दोश्रो ‘शब्दकिरी रअ सेसन्स आयोजना गर्ने भएको छ । असोज २७ गते काठमाडौंको ज्ञानेश्वरस्थित एटिक रेस्टुरेन्ट एन्ड बारमा सो कार्यक्रम हुन लागेको हो । ‘५ आवाज, ५ ध्वनि र एउटा आत्मीय साँझ’ भन्ने अवधारणामा तयार गरिएको कार्यक्रममा फरक सिर्जनात्मक पृष्ठभूमि र प्रस्तुतिशैली भएका ५ जना प्रस्तुतकर्ता सहभागी हुनेछन् । उनीहरूले मौलिक कविता, अन्प्लग संगीत, भावना र जीवनका वास्तविक अनुभूति दर्शकमाझ प्रस्तुत गर्नेछन् ।
परम्परागत तथा औपचारिक मञ्चीय कार्यक्रम भन्दा फरक रूपमा तयार गरिएको यस सेसन्समा अत्यधिक, प्राविधिक, सजावट, चर्को प्रकाश र कलाकार तथा दर्शकबीचको दूरीलाई कम प्राथमिकता दिइनेछ । यसको सट्टा शब्द, स्वर, कथा र प्रत्यक्ष मानवीय अनुभूतिलाई कार्यक्रमको केन्द्रमा राखिनेछ । एटिक र शब्दकिरीका अनुसार यो केवल एकपटक आयोजना हुने कविता वा संगीत कार्यक्रम नभई कवि, संगीतकर्मी, कथावाचक र श्रोताबीच प्रत्यक्ष भावनात्मक सम्बन्ध निर्माण गर्ने सिर्जनात्मक अभियानको सुरुआत हो । सीमित संख्यामा विशेष अर्ली–बर्ड छुट पनि उपलब्ध गराइएको छ । सबैभन्दा पहिले टिकट खरिद गर्ने दश जनाले जुनसुकै टिकट श्रेणीमा दुई सय रुपैयाँ छुट प्राप्त गर्नेछन् । टिकट एटिक रेस्टुरेन्ट एन्ड बारबाट प्रत्यक्ष रूपमा फोन पोइन्ट्स को एप बाट वा इसेवा इभेन्ट्समार्फत अनलाइन खरिद गर्न सकिनेछ ।