काठमाडौं, पछिल्लो समय मुलुकमा महंगी बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिसम्बन्धी चालू आर्थिक वर्षको पहिलो महिनाको प्रतिवेदनअनुसार साउनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ९६ प्रतिशत पुगेको हो ।
गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति एक दशमलव ६८ प्रतिशत मात्रै थियो । साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति छ दशमलव ७७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको पाँच दशमलव ५२ प्रतिशत रहेको छ । गत वर्षको साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति दुर्ई दशमलव २८ प्रतिशतले ऋणात्मक रहेको थियो भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ९५ प्रतिशत थियो ।
राष्ट्र बैंकका अनुसार साउनमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेलको मूल्यसूचकांक वार्षिक बिन्दुगत आधारमा १५ दशमलव ६२ प्रतिशत, फलफूलको १५ दशमलव ३९ प्रतिशत, माछा तथा मासुको आठ दशमलव ६५ प्रतिशत, तरकारीको छ दशमलव ९० प्रतिशत र मरमसलाको चार दशमलव ८० प्रतिशतले बढेको छ । गैरखाद्य तथा सेवा समूहमा यातायातको मूल्यसूचकांक १३ दशमलव १७ प्रतिशत, मदिराजन्य पेय पदार्थको सात दशमलव २० प्रतिशत, कपडा तथा जुत्ताचप्पलको पाँच दशमलव ५२ प्रतिशत र सुर्तीजन्य पदार्थको चार दशमलव ९७ प्रतिशतले बढेको छ ।
क्षेत्रगत रूपमा हेर्दा ग्रामीण क्षेत्रमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यसूचकांक छ दशमलव १८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रमा पाँच दशमलव ८८ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा सबैभन्दा बढी मुद्रास्फीति मधेश प्रदेशमा छ दशमलव ९४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा चार दशमलव ६१ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । काठमाडौं उपत्यकामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८१ प्रतिशत, तराईमा छ दशमलव ६४ प्रतिशत, पहाडमा पाँच दशमलव ९५ प्रतिशत र हिमालमा पाँच दशमलव १० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकमा साउनमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति आठ दशमलव २७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति दुई दशमलव ३७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा उपभोग्य वस्तुको थोक मुद्रास्फीति शून्य दशमलव शून्य पाँच प्रतिशतले ऋणात्मक रहे पनि मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मुद्रास्फीति क्रमशः १३ दशमलव ६२ प्रतिशत र छ दशमलव ४५ प्रतिशत रहेको छ । निर्माण सामग्रीको थोक मूल्य पनि चार दशमलव ८९ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । यसैबीच, साउनमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ९६ प्रतिशत रहँदा भारतमा सन् २०२६ अगस्टमा यस्तो मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
एक महिनामै भित्रियो दुई खर्ब १५ अर्ब रुपैया“ रेमिट्यान्स
वैदेशिक रोजगारीबाट प्राप्त हुने आय अर्थात रेमिट्यान्स रकम बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको एक महिनाको प्रतिवेदनअनुसार रेमिट्यान्स आप्रवाह २१ दशमलव दुई प्रतिशतले बढेर दुई खर्ब १५ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २९ दशमलव नौ प्रतिशतले बढेको थियो ।
प्रतिवेदन अनुसार अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १० दशमलव दुई प्रतिशतले बढेर एक अर्ब ४० करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर दुई खर्ब २९ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय एक खर्ब ९३ अर्ब ८५ करोड रुपैयाँ थियो । वैदेशिक रोजगारीका लागि साउनमा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४२ हजार छ सय ९३ रहेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या २७ हजार सात सय ४८ रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या ४४ हजार चार सय ६६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २३ हजार छ सय ४४ रहेको थियो ।
सेवा आयको घाटामा कमी
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा सेवा खाताको खुद आय १० अर्ब ८२ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सेवा खाताको खुद आय १३ अर्ब २४ करोड रुपैयाँले घाटामा थियो । सेवा खाताअन्तर्गत भ्रमण आय भने बढेको छ । साउनमा भ्रमण आय पाँच अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय पाँच अर्ब ४१ करोड रुपैयाँ थियो ।
यसको विपरीत भ्रमण व्यय २६ दशमलव छ प्रतिशतले घटेर १५ अर्ब ९२ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको साउनमा भ्रमण व्यय २१ अर्ब ७० करोड रुपैयाँ थियो । समीक्षा अवधिको भ्रमण व्यय मध्ये शिक्षातर्फ मात्रै १० अर्ब ८० करोड रुपैयाँ खर्च भएको छ । अघिल्लो वर्ष शिक्षातर्फको भ्रमण व्यय १४ अर्ब ३१ करोड रुपैयाँ थियो ।
चालू खाता ९४ अर्ब रुपैयाँले बचतमा
राष्ट्र बैंकका अनुसार रेमिट्यान्समा भएको वृद्धि र सेवा खाताको घाटामा आएको कमीका बीच मुलुकको चालू खाता साउनमा ९४ अर्ब ५९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ७८ अर्ब २९ करोड रुपैयाँले बचतमा थियो ।
अमेरिकी डलरमा पनि चालू खाता बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड डलर बचत रहेको चालू खाता समीक्षा अवधिमा ६२ करोड डलरले बचतमा पुगेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ६३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर एक अर्ब चार करोड रुपैयाँ थियो ।
यसैगरी साउनमा प्रत्यक्ष वैदेशिक लगानीअन्तर्गत इक्विटी मात्रतर्फ एक अर्ब एक करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ६९ करोड रुपैयाँ थियो ।
शोधनान्तर बचत ९० अर्ब
राष्ट्र बैंकका अनुसार साउनमा मुलुकको शोधनान्तर स्थिति ९० अर्ब ३४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा भने अघिल्लो वर्षको सोही अवधिमा ६४ करोड डलरले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५९ करोड डलरले बचतमा रहेको छ ।
विदेशी मुद्रा सञ्चिति ३९ खर्ब ४६ अर्ब
राष्ट्र बैंकका अनुसार मुलुकको विदेशी मुद्रा सञ्चिति पनि साउनमा बढेको छ । २०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति एक दशमलव दुई प्रतिशतले बढेर साउन मसान्तमा ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तको २५ अर्ब ३१ करोड डलरबाट २.१ प्रतिशतले बढेर साउन मसान्तमा २५ अर्ब ८४ करोड डलर पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तको ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँबाट बढेर साउन मसान्तमा ३५ खर्ब १७ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति पनि चार खर्ब २४ अर्ब ४८ करोड रुपैयाँबाट बढेर चार खर्ब २८ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव आठ प्रतिशत रहेको छ ।
राष्ट्र बैैंकका अनुसार आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय
सञ्चितिले २१ महिना आठ दिनको वस्तु आयात र १८ महिना आठ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।