काठमाडौं, मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२६ अन्तर्गत ‘जीवन बीमा तथा वित्तीय सेवाको क्षेत्रमा उत्कृष्ट नेतृत्व’ विधामा सम्मानित भएका छन् । यो सम्मानले स्थानीय प्रतिभा र नेतृत्वको विकासप्रति मेटलाइफ नेपालको दीर्घकालीन प्रतिबद्धतालाई थप पुष्टि गरेको कम्पनीको भनाइ छ । बीमा क्षेत्रको व्यावसायिक विकासमा योगदान पु¥याउँदै देशभरका ग्राहकलाई अर्थपूर्ण सुरक्षा र वित्तीय सुरक्षाका समाधान उपलब्ध गराउन मेटलाइफ नेपालको व्यवस्थापनले गर्दै आएको निरन्तर प्रयासलाई पनि यसले सम्मान गरेको छ ।
सन् २०१७ मा श्रेष्ठ मेटलाइफ नेपालको नेतृत्व गर्ने पहिलो नेपाली नागरिक बनेका थिए । उनले स्थानीय नेतृत्व प्रतिभाको विकास, ग्राहक अनुभवलाई अझ प्रभावकारी बनाउने तथा निरन्तर सिकाइ, विकास र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने विभिन्न पहलहरूको नेतृत्व गर्दै आएका छन् । उनको नेतृत्वमा मेटलाइफ नेपालले ग्राहककेन्द्रित समाधान, डिजिटल नवप्रवर्तन, सञ्चालन उत्कृष्टता तथा कर्मचारी विकासमा आफ्नो ध्यानलाई निरन्तर सुदृढ गर्दै आएको छ । साथै, नेपालमा बीमा क्षेत्रको व्यावसायिक मापदण्डलाई थप बलियो बनाउन पनि कम्पनीले निरन्तर काम गर्दै आएको छ ।
यस सम्मानबारे बोल्दै श्रेष्ठले भने, ‘यो सम्मान प्राप्त गर्न पाउँदा मैले अत्यन्त सम्मानित महसुस गरेको छु । हाम्रा ग्राहकहरूलाई अझ सुरक्षित र आत्मविश्वासपूर्ण भविष्य निर्माण गर्न सहयोग पुर्याउन हरेक दिन योगदान गर्ने हाम्रा कर्मचारी, अभिकर्ता, साझेदार तथा सम्पूर्ण सरोकारवालाहरूसँग म यो सम्मान साझा गर्न चाहन्छु । मेटलाइफ नेपालमा हामी हाम्रा मानिसहरूमा लगानी गर्न, बीमा क्षेत्रको व्यावसायिक मापदण्डलाई अझ उकास्न तथा हामीले सेवा प्रदान गर्ने ग्राहक र समुदायका लागि दीर्घकालीन मूल्य सिर्जना गर्न निरन्तर प्रतिबद्ध छौँ ।’
सीजन मिडियाद्वारा आयोजना गरिने एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डले नेतृत्व, नवप्रवर्तन, सम्बन्धित क्षेत्रमा योगदान तथा व्यावसायिक उपलब्धिमार्फत उत्कृष्टता प्रदर्शन गरेका एसियाभरका प्रतिष्ठित पेशाकर्मीहरूलाई सम्मान गर्दै आएको छ । यस वर्ष चीन, मलेसिया, बंगलादेश, भारत, जापान र नेपालका विभिन्न क्षेत्रका प्रतिष्ठित पेशाकर्मीहरूलाई सम्मान गरिएको छ ।