बर्दिया । बर्दियास्थित महेन्द्र राजमार्गमा गुडिरहेको विद्युतीय सवारी साधन (ईभी) हाइसमा आइतबार बिहान अचानक आगलागी भएको छ ।कोहलपुरबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००२ ज ४३३ नम्बरको भाडाको फोटोन ईभी हाइसमा गुड्दागुड्दै आगलागी भएको हो ।
बर्दिया प्रहरीले दिएको जानकारीअनुसार आगलागी हुँदा हाइसमा चालक र सहचालक मात्रै रहेका थिए । घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । आगो नियन्त्रणमा लिन ठाकुरबाबा नगरपालिकाको दमकलसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।
आगलागीबाट हाइसमा रहेका कागजपत्र तथा ४२ हजार रुपैयाँ नगद जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुल्न बाँकी रहेको छ ।