काठमाडौं, मुक्तिनाथ विकास बैंक लिमिटेड र गुड कर्मा रेसिडेन्सिजबीच महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने ग्राहकलाई सहज आवास कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ । बुधबार भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार योग्य ग्राहकले बैंकको प्रचलित नीति तथा मापदण्ड पूरा गरेको अवस्थामा बेस रेटमा शून्य दशमलव २५ प्रतिशत प्रिमियम थप गरी आवास कर्जा प्राप्त गर्न सक्नेछन् । उक्त कर्जाको अधिकतम अवधि ३० वर्षसम्म रहने व्यवस्था गरिएको छ । यो सहकार्यबाट कर्मा रेसिडेन्सिजमा घर तथा अपार्टमेन्ट खरिद गर्न चाहने ग्राहकलाई आवश्यक वित्तीय स्रोत जुटाउन सहज हुने अपेक्षा गरिएको छ । बैंकका अनुसार कर्जा सुविधा ग्राहकको योग्यता, क्रेडिट मूल्यांकन, सम्बन्धित सम्पत्तिको मूल्यांकन तथा कानुनी र प्राविधिक परीक्षणका आधारमा बैंकको प्रचलित नीति तथा मापदण्डअनुसार उपलब्ध हुनेछ ।
मुक्तिनाथ विकास बैंकले पछिल्लो समय आवास कर्जासँगै अटो, कृषि तथा एसएमईलगायत विभिन्न क्षेत्रमा कर्जा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । बैंकले ग्राहकको आवश्यकता र क्षमता हेरी प्रतिस्पर्धी ब्याजदरमा विभिन्न प्रकारका कर्जा सुविधा प्रदान गर्दै आएको बताएको छ ।