त्रेतायुगको कथा रामायणको ‘लक्ष्मण रेखा’ र द्वापर युगको कथा महाभारतको ‘युधिष्ठिरको रथ’ यी दुई अध्याय हरेक समय सामाजिक सम्बन्ध र राजनीतिक विकासको यात्रामा अत्यन्तै काम लाग्ने कालजयी पाठ्यक्रम हुन् ।
लक्ष्मण रेखा
‘सीताले लक्ष्मण रेखा पार नगरेकी भए रामायणको कथा अगाडि बढ्ने नै थिएन’ भन्ने नै पूर्व, पश्चिम, उत्तर, दक्षिणका सम्पूर्ण शास्त्र ज्ञानमा ‘लक्ष्मण रेखा’को तात्पर्य सीमित गरिएको छ । सीताले लक्ष्मण रेखा पार गर्दा नै रामायणको कथा अगाडि बढेको साँचो हो । तर यो शास्त्र ज्ञान ‘लक्ष्मण रेखा’को भौतिक (शरीर) स्वरूप मात्रै हो । यसको अन्तर्य (आत्मा) तात्पर्य त्यत्रो तीन लोक (स्वर्ग, धर्ती, पाताल) विजयी शक्तिशाली रावणले पनि पार गर्न नसकेको ‘लक्ष्मण रेखा’को शक्तिका बारेमा भने पाठ्यक्रम उपलब्ध पाइँदैन । यसमा वाल्मिकीले वर्णन गरेअनुसार ब्रह्मा विष्णु महेश (सृष्टिकर्ता, पालनकर्ता, संहारकर्ता) तीनै भगवानका संयुक्त शक्ति सन्निहित थियो जुन शेषनाघले कठोर तपस्याद्वारा पाउनुभएको थियो । ‘लक्ष्मण रेखा’को यो अन्तर्य (आत्मा) शक्ति पाठ्यक्रम ओझेलमा पर्नुको कारण यसको पार गर्दाको हानी नोक्सानी अन्दाज हुन असम्भव हुन जान्छ ।
आजको मितिमा ‘लक्ष्मण रेखा’लाई पूर्व, पश्चिम, उत्तर, दक्षिण समग्र शास्त्र ज्ञानले बुझ्दा ‘मर्यादा रेखा, धर्म रेखा, अनुशासन रेखा, आस्था, विश्वास, नीति, सिद्धान्त, विचारधारा, मूल्य, मान्यता, नैतिकता, विवेक रेखाका रूपमा व्याख्या परिभाषा गरेको पाइन्छ । र यी रेखा नाघ्दा देश, जनता, प्रणाली, धर्म, संस्कृति, आम सामाजिक सम्बन्ध (रुसो) खाल्डोमा पर्ने निश्चित हुन्छ । यो प्रसङ्गको मूल पाठ्यक्रम आजको मितिलाई मात्र आवश्यक नभएर सदाकालका लागि आवश्यक छ ।
युधिष्ठिरको रथ
महाभारत कथाअनुसार युधिष्ठिर धर्मराजका प्रतिरूप (पुत्र) हुनुहुन्थ्यो र महाभारत युद्धमा उहाँको रथको चक्का हमेशा पृथ्वीको धारण शक्तिभन्दा एक हात माथिबाट उड्ने (गुड्ने) गर्दथ्यो । उहाँको यस पृथ्वीको गुरुत्वाकर्षण शक्ति जित्ने सत ‘झुटो नबोल्ने संकल्प’ थियो । तर जब गुरु द्रोणाचार्यको मृत्यु नभई महाभारत युद्ध छिटो निष्कर्षमा नपुग्ने भगवान् कृष्णलाई लाग्यो र उहाँले एउटा षड्यन्त्र रच्नुभयो । किनभने द्रोणाचार्यको काल उहाँको पुत्र अश्वत्थामाको मृत्युमा लुकेको थियो । अर्कोतर्फ अश्वत्थामा ब्रह्माका मानसपुत्र सप्तर्षी चिरञ्जीवी भएजस्तै चिरञ्जीवीमा पर्दथे । पुत्र चिरञ्जीवी हुनु र पुत्रशोकमा नपरी द्रोणाचार्य नढल्ने भएपछि कृष्णलाई षड्यन्त्र रच्नुभन्दा अर्को विकल्प देखिएन । त्यसको लागि युधिष्ठिरलाई संलग्नतामा लिनु आवश्यक भयो । युधिष्ठिरलाई भन्नुभयो, ‘हामी अश्वत्थामा नाम गरेको हात्ती मारेर गुरुपुत्र अश्वत्थामा मारिएको समाचार द्रोणाचार्यको कानमा पुर्याउछौँ । झुटो नबोल्ने संकल्पमा बाँधिनुभएको तपाईँलाई नसोधी गुरुले पत्याउनु हुन्न । जब गुरु सोध्नुहुन्छ त्यतिखेर ‘नरो वा कुञ्जरो अश्वत्थामा हतोहत’ भनिदिनुहोला । तपाईँको संकल्प पनि जोगिन्छ, हाम्रो काम पनि हुन्छ ।’
धर्मराजका पनि भगवान् कृष्णले भनेपछि युधिष्ठिरले नाइँ भन्न सक्ने स्थिति हुन्नथियो । योजनाअनुसार नै हात्ती मारेर गुरुपुत्र अश्वत्थामा मारिएको हल्ला फैलाइयो । युधिष्ठिरले ‘वा कुञ्जरो’ उच्चारण भएको समयमा कृष्णले यति धेरै ठूलो स्वरको शंख फुकिदिनुभयो कि ‘कुञ्जरो’ भन्ने उच्चारण द्रोणाचार्यको कानसम्म पुग्नै सकेन र ‘पुत्रशोक’मा लुकिरहेको काल आएर लग्यो । ढल्नुभयो । गुरु द्रोणाचार्यले कालका अगाडि अश्वत्थामा चिरञ्जीवी रहेको हेक्का राख्न नसक्नु सायद यसैलाई नियतीको खेल भनिन्छ । यहाँनेर विचार नपुर्याई गरिएको विश्वास पनि घातक हुन्छ भन्ने एउटा शिक्षा लुकेको छ । तर मैले यहाँ ल्याउन खोजेको मूल पाठ्यक्रमचाहिँ हमेसा पृथ्वीबाट एक हातमाथि उड्ने युधिष्ठिरको रथको प्रसङ्ग हो । जब युधिष्ठिरले नरो वा कुञ्जरो (मानिस हो कि हात्ती) भन्नासाथ कुञ्जरो शब्द नसुनेर द्रोणाचार्य त ढलिहाल्नुभयो ।
ठीक त्यही बखत झुटो नबोल्ने संकल्प स्खलित भएका कारण एक हातमाथि आकाशमार्गमा स्थिर युधिष्ठिरको रथ पनि भुइँमा पच्छारिएर गल्र्यामगुर्लुम चकनाचुर भयो । त्यही सतच्यूत भएकै कारण धर्मराजका पुत्र भएर पनि युधिष्ठिरले नर्क भोग्नु परेको वेदव्यासले वर्णन गनुभएको छ ।
नेपाल आजको मितिमा विगत ३१ वर्षको दलीय (खासगरी कांग्रेस, एमाले, राप्रपा, माओवादी, मधेशवादी) कुकृत्य कर्तुतका कारण मुलुक आर्थिक रूपमा पूरा दिवालीया (८३ प्रतिशत गाँस आयात निर्भर) र सार्वभौमिकता आईसीयूमा घिटीघिटी (लिपुलेक, लिपिया धुरा, कालापानी भारतको नक्साभित्र) अवस्थामा पु¥याइएको राष्ट्रिय राजनीतिको पृष्ठभूमिमा रामायण महाभारतका उल्लिखित दुई उदाहरण सान्दर्भिक पाठ्यक्रम हुने भएकाले यस खालको जाँगर गरेको हुँ ।
सभ्यता विकासको प्रकृति नै हो कि यदि देश (नेपाल) समाज, प्रणाली, व्यवस्था प्रगति उन्नतिमा जाने हो भने राज्यसत्ता, राजनीतिक बौद्धिक नेतृत्वले एउटा न एउटा मर्यादा (लक्ष्मण रेखा) र संकल्प अनुशरण धारण गरेकै हुनुपर्छ । राजनीति (देश समाज सेवा) गर्छु भन्ने तर त्यसको मर्यादा र संकल्प भने एक रौँबराबर पनि अनुशरण र धारण नगरेपछि परिणाम पतन र विनाश अनिवार्य हुन जान्छ । रामायणमा सीताले लक्ष्मण रेखा नाघ्दा र महाभारतमा युधिष्ठिरले संकल्प भङ्ग गर्दा सीताले त्यत्रो हन्डर (अग्नीपरीक्षा) खानु पर्यो, युधिष्ठिरको सारा जीवनको गौरव कलंकित भयो । आजको मितिको हाम्रो सीताको हन्डर र युधिष्ठिरको कलंक भनेको पूर्ण रूपको आर्थिक दिवालीया (३२ खर्ब वैदेशिक ऋणको ब्याज तिर्न पनि ऋणै) र सार्वभौमिकता घिटीघिटी अवस्थामा पुगेको हो ।
विसं २०४५ सालसम्म ‘धान चामल निर्यात कम्पनी’का सरकारी साइनबोर्डहरू अधिराज्यव्यापी छ्याप्छ्याप्ती भेटिने मेरो पुस्ताका सबैका आँखामा अहिले पनि झलझली सम्झना छ । यसको सोझो अर्थ हो त्यति खेर सम्म हामी बिहान–बेलुका छाकमा आत्मनिर्भर थियौँ । आज भारतले विगतमा १८ महिना नाकाबन्दीजस्तो गोदाम रित्तिएपछिको १८ दिन मात्र चामललगायत उपभोग्य वस्तुमा नाकाबन्दी लगाइदियो भने सारा नेपाली जनता भोकभोकै तड्पेर उत्तानो परेर आकाशतर्फ हातखुट्टा उफार्दै गुहार माग्नुपर्ने अवस्था हुनेछ ।
यो सबै हुनुको मूल कारण विगत तीन दशक बढी (०५१ को मध्यावधि यता) नेपालको राज्यसत्ता नीति निर्माण तहमा दलहरूका ११ हजार गुण्डाहरू अन्तर्राष्ट्रिय माफिया सरगनाले पूर्ण रूपमा क्याप्चर गरेर देश बेच्ने जनता लुट्ने (मानव तस्करी) मनपरीतन्त्र (अराजकता कुशाशन) मच्चाएकाले भन्ने आइएमएफकै तथ्यांक हो । यसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसै व्यस्त चौराहमा खुकुरी (खुँडा)ले मानिसको टाउको छप्काउने रिगल (तरुण दलको नेता)लाई कैद माफी दिएको, ५ पटक प्रधानमन्त्री भएको शेरबहादुर देउवाले जिउँदै मान्छेलाई इँटाभट्टामा पोल्ने मोहम्मद अफ्ताब आलम (सांसद÷मन्त्री)लाई जेलबाट छुटाउन आफ्नो सम्पूर्ण शक्ति (कांग्रेस सभापति) लगाएको र छुटाएको पनि, बालकृष्ण खाँडले गृहमन्त्रीको कुर्सीमा बहाल रहेकै बखतमा मानव तस्करी गरेको प्रमाणबाट जेल पुगेर पनि हाल छुटेर खुला रूपमा छाति तन्काएर पार्टी महाधिवेशनमा चलखेल गर्न पाइरहेको यस्ता सयकडौँ कुकर्म कर्तुतले आइएमएफको माथि उल्लिखित तथ्यांक (गुण्डाराज) पुष्टि र प्रमाणित हुन्छ । सांख्य दर्शनको कार्यकारण दृष्टिले हेर्ने हो भने आज मुलुक जुन आर्थिक दिवालीया सार्वभौमिकता आईसीयूमा घिटीघिटी अवस्थामा पुग्नुको जिम्मेवार गिरिजा, प्रचण्ड, ओली, देउवा आदि इत्यादि सांसद, मन्त्री, प्रधानमन्त्री, जिल्ला, क्षेत्र, वडा तहका दलीय प्राधिकारहरूले मर्यादाको लक्ष्मण रेखा (नीति, सिद्धान्त, विचारधारा) र जनतासँग गरेका वाचा संकल्प च्यूत भएकाले हो ।
गिरिजाले जब राष्ट्रियताको मर्यादा रेखा नाघेर टनकपुर (महाकाली सन्धि) मा राष्ट्रघात गरे, स्खलित भएर सकिए । प्रचण्डले जब १७ हजार बढी नेपाल आमाका सपुतको आहुति र बलिदानबाट उपलब्ध शक्ति श्री ५ ज्ञानेन्द्रबाट पुनर्जीवित (मृत) प्रतिनिधि सभाबाट प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालाको हातबाट टीका थापेर सांसद (बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो आफैँ भन्दै आएका) भए त संकल्प च्यूत भएर धुलीसात भए । ओलीले जुन दिन श्री ५ वीरेन्द्रले ‘महाकाली सन्धिमा हस्ताक्षर नगर, त्यो राष्ट्रघाती छ’ भन्दा भन्दै अटेर गरेर दिल्ली पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गरेको सन्धिलाई संसद्को दुइ तिहाइ बहुमतबाट पास गराउन मनमोहन अधिकारीलाई किनारामा धकेलेर वामदेव गौतमलाई पार्टी (एमाले) बाट लखेटेर जुन राष्ट्रघाती उछलकुद गरे, राजनीतिक मर्यादा रेखा नाघे, उनको कलंकीत अन्त्य भयो । अहिले उनले राधिका शाक्यको जुम्रा हेर्ने काम पाएका भन्ने सामाजिक सञ्जालमा टिप्पणी भाइरल भेटिन्छ ।
शेरबहादुर देउवाले जुन दिन बीपी, सुवर्ण, गणेशमान, भट्टराइले रोपेर गोडमेल गरेर अनेक प्रकारका हुरी, बतास, आँधी, तुफानबाट जोगाएको चुनाव चिन्ह ‘रुख’मा भोट माग्नुको साटो भारतीय गुप्तचर संस्था ‘रअ’ बाट राष्ट्रिय एकताका प्रतिक राजसंस्था सिध्याउन परिचालित माओवादीको चुनावचिह्न ‘हँसिया हथौडा’मा चुनावका बखत भोट माग्न थाले, त्यही दिन उनको राजनीतिक प्राणान्त भएको हो । लास भएर, कुहेर, गन्हाएर रोग फैलाउने चरणमा पुगेर यति खेर देश जनता प्रणालीका लागि कोरोनाभन्दा खतरनाक क्यान्सर भएका छन् ।
हाम्रो देश नेपाल वर्तमान आर्थिक दिवालीया र सार्वभौमिकता कोमामा पुगेका कार्यकारण प्रस्ट पार्न रामायणको ‘लक्ष्मण रेखा’ र महाभारतको ‘युधिष्ठिरको रथ’ दृष्टान्तमा ल्याएर जुन कुरो भन्न खोजिरहेको छु, मात्र आम नेपाली जागरणमा नवजागरण बिजारोपण होस् भन्ने ध्येयबाहेक अन्य कुनै आग्रह पूर्वाग्रह छैन । अस्तु ।