काठमाडौं, नुवाकोटको अग्रणी वित्तीय संस्था श्री बट्टार सहकारी संस्था लिमिटेड स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको छ । संस्थाले त्रिशूली नदीमा आएको बाढी तथा विभिन्न प्राकृतिक प्रकोपबाट सिर्जित विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्नो ३०औँ वार्षिकोत्सव सादगीपूर्ण रूपमा मनाएको हो ।
वार्षिकोत्सवका अवसरमा संस्थाका अध्यक्ष टलकमान श्रेष्ठले सम्पूर्ण सेयर सदस्य तथा शुभेच्छुकमा हार्दिक बधाइ तथा सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । विपद्को कठिन परिस्थितिमा ठूलो औपचारिक उत्सव वा समारोह आयोजना गर्नु उपयुक्त नहुने भन्दै संस्थाले कार्यालयमै सामान्य पूजापाठ गरी वार्षिकोत्सव मनाएको जनाएको छ । संस्थाले उत्सवभन्दा पनि विपद्का बेला आफ्ना सदस्य र समुदायको सुख–दुःखमा साथ दिनुलाई प्राथमिकता दिएको छ ।
अध्यक्ष श्रेष्ठले सदस्यहरूको भौतिक सुरक्षा, हित तथा समुदायप्रतिको उत्तरदायित्वलाई संस्थाले सधैँ सर्वोच्च प्राथमिकतामा राख्दै आएको बताए । विपद्को यस कठिन घडीमा उत्सव मनाउनुभन्दा सदस्यहरूको सुख–दुःखमा साथ दिनु नै संस्थाको मुख्य धर्म रहेको उनको भनाइ छ । तीन दशक लामो यात्रामा सेयर सदस्यहरूले संस्थाप्रति देखाएको विश्वास, निरन्तर सहयोग र समर्पणप्रति संस्थाले आभार व्यक्त गरेको छ । सदस्यहरूको विश्वास नै सहकारीको सबैभन्दा ठूलो पुँजी भएको संस्थाले जनाएको छ ।
संस्थाले आगामी दिनमा सेवालाई अझ सुरक्षित, समयसापेक्ष, प्रविधिमैत्री र प्रभावकारी बनाउने प्रतिबद्धता पनि जनाएको छ । सदस्यहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै कठिन परिस्थितिमा समेत उनीहरूको आर्थिक समृद्धिको भरपर्दो सारथी बन्ने र सहकारीताको मर्मलाई अझ बलियो बनाउने संस्थाको अठोट छ ।