काठमाडौं, नेपा एपले नयाँ संस्करणमा दैनिक जीवनमा उपयोगी हुने १० भन्दा बढी नयाँ उपकरण थप गरेको छ । एपलाई थप उपयोगी, सहज र बहुउद्देश्यीय बनाउने उद्देश्यले नयाँ उपकरण तथा सुविधा थप गरिएको एपले जनाएको छ ।
नयाँ संस्करणमा पीडीएफ कागजात स्क्यान, क्यूआर कोड स्क्यान, इन्टरनेट गति परीक्षण, महिनावारी चक्र विवरण, एकाइ रूपान्तरण, हिसाब गर्ने उपकरण, टिपोट तथा सम्झना, ऋण हिसाब, स्थानसम्बन्धी जानकारी र कर हिसाबलगायतका सुविधा समावेश छन् । पीडीएफ स्क्यान गर्ने सुविधाबाट मोबाइलमार्फत आवश्यक कागजात स्क्यान गरी पीडीएफ बनाउन सकिनेछ । त्यस्तै, क्यूआर कोड स्क्यानरबाट विभिन्न क्यूआर कोड स्क्यान गर्न तथा इन्टरनेट गति परीक्षण उपकरणबाट मोबाइलको इन्टरनेट गति जाँच गर्न सकिनेछ ।
महिलाका लागि उपयोगी हुने महिनावारी चक्र विवरण राख्ने सुविधामा महिनावारीको चक्र र सम्बन्धित मितिको विवरण राख्न सकिनेछ । यसबाट सम्भावित महिनावारीको मितिबारे जानकारी तथा सम्झना गराउने सूचना प्राप्त गर्न सकिने एपले जनाएको छ । एकाइ रूपान्तरण र हिसाब गर्ने उपकरणमार्फत दैनिक आवश्यक पर्ने सामान्य गणना तथा विभिन्न एकाइ रूपान्तरण गर्न सकिनेछ । टिपोट तथा सम्झना सुविधाबाट महत्वपूर्ण जानकारी सुरक्षित राख्नुका साथै आवश्यक समयमा सम्झाउन सूचना निर्धारण गर्न सकिनेछ । यसमा आवाजको टिपोट सुरक्षित राख्ने सुविधा पनि समावेश गरिएको छ । त्यस्तै, ऋण हिसाब गर्ने उपकरणबाट ऋणको किस्ता तथा भुक्तानीसम्बन्धी सामान्य गणना गर्न सकिनेछ भने कर हिसाब गर्ने उपकरणबाट आम्दानी तथा करसम्बन्धी अनुमानित गणना गर्न सकिनेछ ।