काठमाडौं, मुक्तिनाथ विकास बैंक लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का लागि जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ । आगामी कार्तिक नौ गतेदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणमा सहकार्य गर्ने सम्बन्धमा बैंक र जनकपुर बोल्ट्सबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
नेपाली बैंकिङ क्षेत्रमा ग्राहककेन्द्रित सेवा, नवीनता तथा वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आएको मुक्तिनाथ विकास बैंकले यस साझेदारीलाई नेपाली क्रिकेटको विकास, स्थानीय प्रतिभाको प्रोत्साहन र समुदायसँगको सम्बन्धलाई थप मजबुत बनाउने अवसरका रूपमा लिएको छ ।
नेपाल प्रिमियर लिग नेपाली क्रिकेटको व्यावसायिक विकास, प्रतिभाशाली खेलाडीको क्षमता अभिवृद्धि तथा खेलकुदलाई आर्थिक गतिविधिसँग जोड्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको छ । यसैबीच, एनपीएलको तेस्रो संस्करणका सबै खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक टी–२० मान्यता प्रदान गरेको छ । यससँगै प्रतियोगितामा खेलाडीले बनाउने रन, लिने विकेट तथा व्यक्तिगत प्रदर्शन आधिकारिक टी–२० तथ्यांकमा समावेश हुनेछन् । यसले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्न र आधिकारिक तथ्यांकमा आधारित खेल जीवनको अभिलेख निर्माण गर्न थप अवसर प्रदान गर्नेछ । एनपीएलको पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्सले नेपाली क्रिकेटमा आफ्नो विशिष्ट पहिचान स्थापित गरिसकेको छ । पहिलो संस्करणको च्याम्पियन बनेसँगै टोलीले नेपाली क्रिकेटप्रेमीमाझ लोकप्रियता हासिल गर्नुका साथै मधेश प्रदेशको खेलकुद पहिचानलाई समेत थप उजागर गरेको छ ।
मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरका अनुसार यस सहकार्यले जर्सीमा बैंकको लोगो राख्ने व्यावसायिक साझेदारीमा मात्र सीमित नभई क्रिकेटमार्फत समुदायसँग जोडिने, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने र युवा सशक्तीकरणमा योगदान पुर्याउने बैंकको प्रतिबद्धतालाई समेत प्रतिबिम्बित गरेको छ ।
एनपीएलको तेस्रो सिजनमा जनकपुर बोल्ट्सले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखिरहेका बेला टोलीसँग सहकार्य गर्न पाउँदा बैंकले गर्व महसुस गरेको जनाएको छ । त्यसैगरी, जनकपुर बोल्ट्सको सञ्चालक कम्पनी ड्रिम स्पोट्र्स प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले मुक्तिनाथ विकास बैंकलाई आधिकारिक बैंकिङ साझेदारका रूपमा स्वागत गर्दै यस सहकार्यले दुवै संस्थाको साझा उद्देश्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।
उनले भने, ‘मुक्तिनाथ विकास बैंकजस्तो समुदायसँग गहिरो सम्बन्ध भएको संस्थालाई आधिकारिक बैंकिङ साझेदारका रूपमा पाउँदा हामी अत्यन्त खुसी छौँ । ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने बैंकको सोच र मधेशका जनतासँग जोडिने जनकपुर बोल्ट्सको यात्रा एउटै दिशामा अघि बढेका छन् ।’
खतिवडाले एनपीएलको पहिलो संस्करणको विजेता टोलीका रूपमा यस सिजन पनि उपाधि जनकपुर फर्काउने लक्ष्य रहेको बताए । आईसीसीको आधिकारिक मान्यतासँगै यस संस्करण खेलाडीका लागि थप महत्त्वपूर्ण बनेको उल्लेख गर्दै उनले मुक्तिनाथ विकास बैंकको साथले मैदानभित्र र बाहिर दुवैतर्फ टोलीलाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे । साथै, मधेशका युवा प्रतिभालाई प्रोत्साहन गर्ने दुवै संस्थाको साझा प्रतिबद्धतालाई यस सहकार्यले अझ मजबुत बनाउने उनको भनाइ छ ।
मुक्तिनाथ विकास बैंकले यस साझेदारीमार्फत खेलकुदका माध्यमबाट समुदायसँगको सम्बन्ध विस्तार गर्नुका साथै नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने अपेक्षा गरेको छ । बैंकले आगामी दिनमा पनि ग्राहक, समुदाय तथा सरोकारवालासँगको सम्बन्धलाई थप सुदृढ बनाउँदै आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ । यस सहकार्यले नेपाली क्रिकेटको व्यावसायिक विकास, युवा खेलाडीको प्रोत्साहन र मधेश प्रदेशको खेलकुद पहिचानलाई थप उचाइमा पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।