नेपालगञ्ज, नेपालगञ्ज स्वीमिङ क्लबको आयोजनामा आगामी आइतबारदेखि ‘तेस्रो नेपालगञ्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप’ हुने भएको छ । कात्तिक १४ र १५ गते नेपालगञ्ज रङ्गशालामा सञ्चालन हुने उक्त प्रतियोगितामा भारतबाट ५० जना र देशभरिबाट करिब एक सय ५० जना खेलाडीबीच विभिन्न समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
नेपालगञ्ज स्वीमिङ क्लबका अध्यक्ष केशव न्यौपानेले पत्रकार सम्मेलनमार्फत स्वीमिङ खेलको विकास र विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए । स्वीमिङ स्वास्थ्य, सुरक्षा र जीवनशैलीसँग जोडिएको महत्वपूर्ण खेल भएकाले यसलाई जीवन उपयोगी सीपका रूपमा विकास गर्न र खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ । आयोजक संस्था लुम्बिनी प्रदेशकै पहिलो स्वीमिङ क्लब भएको जानकारी दिँदै अध्यक्ष न्यौपानले यहाँका स्वीमिङ खेलप्रेमी, उद्योगी, व्यवसायीलगायत नागरिक समाजको अगुवाइ र पहलमा क्लब स्थापना गरिएको बताए ।
क्लबले स्थापना कालदेखि नै नियमित रूपमा राष्ट्रियस्तरका स्वीमिङ प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लबका वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले प्रतियोगिताले स्वीमिङ खेलको विकास तथा खेलाडीको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए । प्रतियोगितामा आठ वर्षदेखि १७ वर्षसम्मका बालबालिका तथा १७ वर्ष उमेर समूह माथिका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा छ विधामा विभिन्न उमेर समूहमा गरी ८० वटा प्रतिस्पर्धा हुने आयोजक क्लबले जनाएको छ ।
प्रतियोगितामा खेलाडीले फ्रि स्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाई, रिले तथा व्यक्तिगत मेडल विधामा प्रतिस्पर्धा गरिनेछ । लुम्बिनी प्रदेश खेलकुद परिषद्, नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले प्रतियोगितालाई सफल तुल्याउन आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका आयोजकको भनाइ छ ।
प्रतियोगितामा करिब ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिए । प्रतियोगितालाई सफल तुल्याउन स्थानीय आदर्श, बागेश्वरी एकेडेमी, किड्स किंगडम नेपालगञ्ज र शिखा एकेडेमीलगायतले सहयोग गर्ने प्रतिबद्धता जनाएको आयोजकले जनाएको छ ।