भद्रपुर (झापा), झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका तीन लाखभन्दा बढी मूल्यका पटका सशस्त्र प्रहरी बल, नेपाल नं २ गण झापा तथा मातहतका कार्यालयले बरामद गरी नष्ट गरेको छ ।
सीमा नाका र चेकपोइन्टमा गस्ती तथा जाँच गर्ने क्रममा तीन लाख १६ हजार ५९० मूल्य बराबरका पटका सशस्त्र प्रहरीले बरामद गरेको हो । स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीय भद्रभलाद्मीको रोहवरमा बरामद गरिएका पटका नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ । आवश्यक कारबाहीका लागि पटका ओसारपसारमा प्रयोग गरिएको एउटा मोटरसाइकल नियन्त्रणमा लिएर सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ ।
चाडपर्वका समयमा हुन सक्ने चोरीपैठारी तथा अवैध गतिविधि नियन्त्रण गर्न सीमा क्षेत्रमा गस्ती, निगरानी र सवारीसाधन जाँचलाई तीव्रता दिइएको सशस्त्र प्रहरी बल, नेपाल नं २ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुजित विष्टले जनाएका छन् ।