सिंगापुर, सिंगापुरले ऊर्जा उत्पादनका लागि उन्नत आणविक प्रविधिको उपयुक्तता मूल्यांकन गर्दै यस क्षेत्रमा स्थानीय विशेषज्ञता विकास गर्न जनशक्ति विकाससम्बन्धी तीन योजना सुरु गरेको छ ।
सिंगापुरको ऊर्जा, व्यापार तथा उद्योग मन्त्रालय र ऊर्जा बजार प्राधिकरणले सोमबार जारी गरेको संयुक्त विज्ञप्तिअनुसार, यी योजनाले सन् २०२७ मा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)को एकीकृत आणविक पूर्वाधार समीक्षा मिसनका लागि देशलाई तयार पार्नसमेत सहयोग गर्नेछन् । सिंगापुरले आणविक ऊर्जा अपनाउने वा नअपनाउने भन्ने निर्णय गरिसकेको छैन । यद्यपि, यससम्बन्धी आन्तरिक क्षमता विकास गर्नु र नागरिक प्रयोजनका लागि आणविक ऊर्जा प्रविधिको विकासबारे जानकारी हासिल गर्नु सूचित निर्णय लिन महत्वपूर्ण रहेको दुवै निकायले जनाएका छन् ।
तीन योजनामध्ये सिंगापुर आणविक जनशक्ति विकास कार्यक्रम सन् २०२७ मा सुरु हुनेछ । यस कार्यक्रमले व्यवस्थित जनशक्ति विकासका माध्यमबाट सरकारी निकाय र प्रमुख अन्तर्राष्ट्रिय आणविक संस्थाबीच क्षमता अभिवृद्धिसम्बन्धी साझेदारी स्थापना गर्नेछ । कार्यक्रम चरणबद्ध रूपमा कार्यान्वयन गरिनेछ । त्यसैगरी, आणविक जनशक्ति विकास कार्यक्रम (उद्योग) अन्तर्गत सिंगापुरमा रहेका छनोट गरिएका कम्पनीका कर्मचारीलाई अन्तरराष्ट्रिय साझेदारसँगको तालिम तथा उद्योगसम्बन्धी कार्यक्रममा सहभागी हुन आर्थिक सहयोग उपलब्ध गराइनेछ । कर्मचारीलाई निमन्त्रणाका आधारमा छनौट गरिनेछ ।
तेस्रो योजना सिंगापुर फ्युचर इनर्जी फेलोसिप हो । यसअन्तर्गत अन्तरराष्ट्रिय ऊर्जा क्षेत्रका विज्ञहरूलाई सिंगापुरमा आमन्त्रण गरी दीर्घकालीन ऊर्जा नीति तथा आणविक ऊर्जासहित न्यून कार्बन उत्सर्जन गर्ने प्रविधिबारे स्वतन्त्र रणनीतिक परामर्श उपलब्ध गराइने सिन्ह्वाले जनाएको छ ।