काठमाडौं, नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले साधारण सेयरधनीका लागि पाँच प्रतिशत बोनस सेयरसहित कुल १५ दशमलव ८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले पाँच प्रतिशत बोनस सेयर र १० दशमलव ८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो । यस्तै, अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीका लागि आठ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत सभाले पारित गरेको छ । सञ्चालक समितिको सिफारिस तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि सञ्चित नाफाबाट उक्त लाभांश वितरण गर्न लागिएको बैंकले जानकारी दिएको छ । प्रस्तावित बोनस सेयर वितरणपछि नबिल बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुगेको छ । बैंकका अनुसार स्थापना हुँदाको चुक्ता पुँजीको तुलनामा हालसम्म बैंकको चुक्ता पुँजी करिब नौ सय ६० गुणाले बढेको हो ।
आर्थिक वर्ष २०८२/८३ मा नबिल बैंकले सात अर्ब ९१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले समीक्षा अवधिमा निक्षेपतर्फ पनि उल्लेख्य वृद्धि गरेको जनाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप दायित्व ६९ अर्ब ६७ करोड रुपैयाँ अर्थात् १३ दशमलव शून्य छ प्रतिशतले वृद्धि भई छ खर्ब दुई अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको कर्जा तथा सापटी ५१ अर्ब ६८ करोड रुपैयाँ अर्थात् १२ दशमलव १५ प्रतिशतले बढेर चार खर्ब ७६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । बैंकको कुल वासलातको आकारसमेत १५ दशमलव ३८ प्रतिशतले विस्तार भई सात खर्ब ३४ अर्ब ७६ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले नबिल बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै बैंकिङ सेवालाई निरन्तर आधुनिकीकरण र विस्तार गर्दै आएको बताए । देश, समाज, सेयरधनी, ग्राहक, नियमनकारी निकाय तथा कर्मचारीलगायत सबै सरोकारवालाको अधिकार र चासोलाई सम्मान गर्दै बैंकले सन्तुलित र जिम्मेवार ढंगले काम गरिरहेको उनको भनाइ थियो । अध्यक्ष चौधरीले बैंक सामाजिक उत्तरदायित्वप्रति समेत सजग रहेको उल्लेख गर्दै दिगो बैंकिङको अवधारणालाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए । सभाले संस्थापक सेयरधनीतर्फबाट सञ्चालक समितिमा निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई निर्विरोध निर्वाचित गरेको छ ।
चार दशकभन्दा लामो समयदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समय डिजिटल तथा दिगो बैंकिङमा समेत जोड दिँदै आएको छ । बैंकले डिजिटल बैंकिङ सेवाका लागि ‘एनबैंक’ सञ्चालनमा ल्याएको छ भने सन् २०३० सम्म ‘एआई रेडी बैंक’ बन्ने लक्ष्य अघि सारेको छ । बैंकले आफ्नो भिजन तथा मिसन स्टेटमेन्टसमेत परिमार्जन गर्दै ‘पञ्चतत्व’मा आधारित पाँच ‘टी’ अर्थात् ट्रस्ट, ट्रान्सपरेन्सी, ट्यालेन्ट, टेक्नोलोजी र ट्रान्सफरमेसनलाई आफ्नो कार्यदिशाका रूपमा अघि बढाएको जनाएको छ ।
बैंकले हाल देशभर दुई सय ६२ वटा शाखा र तीन सय १६ वटा एटिएम काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ । बैंकका अनुसार २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।