काठमाडौं, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान तथा चेयरपर्सन क्लब सदस्यता वितरण गर्दै वार्षिक चेयरपर्सन क्लब कार्यक्रम भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०८२/०८३ का लागि निर्धारित लक्ष्य पूरा गरी चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्ता, कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीसहित करिब पाँच सय ६५ जनाको सहभागितामा कार्यक्रम दुई रात तीन दिनसम्म सञ्चालन भएको थियो । कार्यक्रमको सुरुवात हालै भोटेकोशीमा आएको भीषण बाढी तथा प्राकृतिक विपद्का कारण घाइते तथा बिरामी भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै तथा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्न एक मिनेट मौनधारणबाट गरिएको थियो ।
कार्यक्रमको औपचारिक उद्घाटन कम्पनीकी अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी गरेकी थिइन् । उद्घाटन मन्तव्यमा उनले अभिकर्ताहरू कम्पनीको मेरुदण्डका रूपमा रहेको उल्लेख गर्दै उनीहरूको सीप, क्षमता र व्यावसायिकता अभिवृद्धिका लागि कम्पनीले निरन्तर सहयोग र सहकार्य गर्दै जाने बताइन् । अभिकर्ता सञ्जालमा नेतृत्व विकासको महत्वसमेत औँल्याउँदै अध्यक्ष सिंहले नेतृत्व विकासका लागि कम्पनीले यथाशक्य लगानी गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आर्थिक वर्ष २०८२÷०८३ मा कम्पनीले हासिल गरेको ऐतिहासिक व्यावसायिक उपलब्धि नेसनल लाइफ परिवारको सामूहिक सफलता भएको बताए । नयाँ आर्थिक वर्षको सुरुवातसँगै कम्पनी स्पष्ट लक्ष्य, मापनयोग्य रणनीति र उच्च व्यावसायिक प्रतिबद्धताका साथ अघि बढिरहेको उल्लेख गर्दै उनले अभिकर्ता सञ्जाललाई थप मजबुत बनाउने तथा ग्राहक सेवाको गुणस्तर सुधारमा कम्पनीले विशेष जोड दिएको बताए ।
कार्यक्रममा चेयरपर्सन क्लब सदस्यता वितरण गर्नुका साथै व्यक्तिगत कोड तथा सञ्जाल व्यवसायमा नेपालभर प्रथम, द्वितीय र तृतीय हुने तथा समूहगत व्यवसायमा प्रथम हुने अभिकर्ताहरूलाई सम्मान गरिएको थियो । साथै, सेन्चुरियन क्लब, नेसनल स्टार, नेसनल सुपरस्टार तथा लगातार १० वर्षसम्म चेयरपर्सन क्लबमा छनोट हुन सफल अभिकर्ताहरूलाई समेत अध्यक्ष सिंहले विशेष सम्मान गरिन । आफ्नो कोड तथा सञ्जालमार्फत नेपालभर उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
कार्यक्रममा सहभागी अभिकर्ताहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धिका लागि विभिन्न विषयमा प्रशिक्षणसमेत सञ्चालन गरिएको थियो । अनुभवी तथा दक्ष प्रशिक्षकहरूले सम्पत्ति शुद्धीकरण, कृत्रिम बुद्धिमत्ता (एआई) तथा डिजिटल मार्केटिङलगायतका विषयमा प्रशिक्षण दिएका थिए । सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रशिक्षण दिँदै नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदम प्रसाद साडारीले बीमालाई समेत माध्यम बनाएर सम्पत्ति शुद्धीकरणका गतिविधि हुन सक्ने भएकाले शंकास्पद गतिविधिको सूक्ष्म निगरानी, आवश्यक पहिचान तथा प्रचलित कानुनी व्यवस्थाको पालनामा बीमा व्यवसायमा संलग्न सबै पक्ष सचेत र सजग हुनुपर्ने बताए ।
यसैगरी प्रशिक्षक विश्वराज पौडेलले कृत्रिम बुद्धिमत्ता (एआई) का विभिन्न प्रयोगात्मक उदाहरण प्रस्तुत गर्दै बीमा व्यवसायमा एआई प्रविधिलाई कसरी उपयोग गर्न सकिन्छ भन्नेबारे प्रशिक्षण दिए । उनले ग्राहकसँगको सम्पर्क, सामग्री निर्माण, व्यावसायिक योजना तथा सूचना व्यवस्थापनलगायतका क्षेत्रमा एआईको प्रभावकारी प्रयोग गर्न सकिने सम्भावनाबारे जानकारी गराए ।
अर्का प्रशिक्षक संजोग कोइरालाले डिजिटल युगमा डिजिटल माध्यमको प्रभावकारी प्रयोगले बीमा व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने बताए । उनले डिजिटल प्लेटफर्म प्रयोग गर्दा प्रचलित कानुन तथा नियामकीय व्यवस्थाको पूर्ण पालना गर्नुपर्नेमा जोड दिँदै सत्यतथ्य सूचना तथा स्वीकृत सामग्री मात्र सार्वजनिक गर्न अभिकर्ताहरूलाई आग्रह गरे ।