काठमाडौं, नेपाल हस्तकला महासंघ र नेपाल कुरियर सेवा संघबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । महासंघको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच द्विपक्षीय हितमा आपसी सहयोग र सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी अनुसार निर्यात प्रवर्द्धनको लागि नीतिगत तथा प्रक्रियागत सहजीकरणको लागि दुवै पक्षले संयुक्त रुपमा नेपाल सरकार समक्ष पहल र पैरबी गर्ने भएका छन् । हस्तकलाको बजारिकरणमा सहयोग गर्ने, निकासीकर्तालाई सामान निकासीको अवस्थामा भन्सार सहज वातावरण र सहुलियत प्रदान गर्ने, निकासी व्यवसायको चुनौतीलाई दुवै पक्षको पहल कदमी सहजिकरण गर्ने सम्झौतामा उल्लेख छ । दुवै संस्थाबीचको सहकार्यलाई सेवाग्राहीको हितमा अझ केन्द्रित भई प्रभावकारी रुपमा सहकार्य गर्दै जाने सहमति भएको छ ।
समझदारी पत्रमा नेपाल हस्तकला महासंघको तर्फबाट अध्यक्ष रविन्द्र शाक्य र नेपाल कुरियर सेवा संघको तर्फबाट अध्यक्ष अनिल राजभण्डारीले हस्ताक्षर गरेका छन् ।