काठमाडौं, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को प्रसारण साझेदार बनेको छ । कम्पनीले एनपीएलको टेलिभिजन प्रसारणका लागि हिमालय स्पोट्र्स एचडीसँग ‘पावर बाइ’ पार्टनरका रूपमा सहकार्य गर्ने सम्झौता गरेको हो ।सम्झौताअनुसार नेपाल लाइफले आगामी नेपाल प्रिमियर लिगको प्रसारणमा हिमालय स्पोट्र्स एचडीसँग साझेदारी गर्नेछ । टी–२० क्रिकेटअन्तर्गत आयोजना हुने एनपीएल २०८३ आगामी कात्तिक ८ गतेदेखि मंसिर २१ गतेसम्म सञ्चालन हुने तय भएको छ ।
नेपालमा क्रिकेट खेल मात्र नभई साझा उत्साह, भावना र राष्ट्रिय एकताको माध्यमका रूपमा विकास हुँदै गएको भन्दै नेपाल लाइफले एनपीएलको प्रसारण यात्रामा सहकार्य गरेको जनाएको छ । देशका विभिन्न भूगोल, समुदाय र पुस्ताका नेपालीलाई एउटै उत्साहमा जोड्ने क्रिकेटको विशेषतासँग आफ्नो ब्रान्डको भावना जोड्दै प्रसारण साझेदारी गरिएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार यो सहकार्य केवल प्रसारण साझेदारीमा सीमित नभई नेपाली खेलकुदको प्रवद्र्धन, विकास तथा उत्थानमा सहयोग पु¥याउने प्रतिबद्धताको हिस्सा हो । मैदानमा विभिन्न टोलीबीच प्रतिस्पर्धा भइरहँदा टेलिभिजनमार्फत देशभरका लाखौँ दर्शक एउटै खेल, उत्साह र भावनामा जोडिने भएकाले एनपीएलसँगको सहकार्यलाई कम्पनीले विशेष महत्व दिएको जनाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले खेलकुदले मानिसलाई नजिक ल्याउने, साझा खुशी सिर्जना गर्ने र एकताको भावना बलियो बनाउने भएकाले एनपीएलको प्रसारणमार्फत देशभरका दर्शकसँग जोडिनु कम्पनीका लागि महत्वपूर्ण अवसर भएको बताए । उनले नेपाल लाइफ नेपाली परिवारको जीवन, भविष्य र सुरक्षासँग जोडिँदै आएको उल्लेख गर्दै एनपीएलजस्तो लोकप्रिय प्रतियोगिताको प्रसारणमार्फत जीवन बीमाबाट आर्थिक सुरक्षा, विश्वास र जिम्मेवार तयारीको महत्वसम्बन्धी सन्देश दर्शकमाझ पु¥याउने उद्देश्य रहेकोे बताए ।
कम्पनीले खेलकुदले समाजमा सकारात्मक ऊर्जा, राष्ट्रिय एकता र आपसी सम्बन्धलाई थप मजबुत बनाउने भएकाले यस्ता प्रसारण प्लेटफर्मसँगको सहकार्यलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ ।