नेपालको आर्थिक विकासको चर्चा गर्दा प्रायः ठूला उद्योग, वैदेशिक लगानी, ठूला पूर्वाधार आयोजना र सहरीकरणलाई प्राथमिकतामा राख्ने गरिन्छ । तर नेपालको वास्तविक आर्थिक आधार गाउँबस्ती, कृषि, स्थानीय स्रोतसाधन, श्रम र परम्परागत सीपमा निहित छ । यही आधारलाई उत्पादन, रोजगारी र उद्यमशीलतासँग जोड्ने महत्वपूर्ण माध्यम हुन, साना तथा मझौला उद्योग । ग्रामीण अर्थतन्त्रलाई आत्मनिर्भर, उत्पादनमुखी र गतिशील बनाउन यी उद्योगको भूमिका अत्यन्त महत्वपूर्ण छ । त्यसैले नेपालको समग्र आर्थिक समृद्धिको सपना साकार पार्न ग्रामीण क्षेत्रमा साना तथा मझौला उद्योगको विकासलाई विशेष प्राथमिकता दिन आवश्यक छ ।
नेपालको ठूलो जनसंख्या ग्रामीण क्षेत्रमा बसोबास गर्छ । कृषि, पशुपालन, वनजन्य उत्पादन, हस्तकला, घरेलु उद्योग र स्थानीय व्यापार ग्रामीण जनजीवनका प्रमुख आर्थिक आधार हुन् । तर गाउँमा उत्पादित वस्तुको उचित मूल्य नपाउनु, बजारसम्म पहुँच नहुनु, रोजगारीका अवसर सीमित हुनु र उत्पादनलाई प्रशोधन गर्ने प्रविधिको अभाव हुनु ग्रामीण अर्थतन्त्रका पुराना समस्या हुन् । यस्ता समस्याको समाधानका लागि साना तथा मझौला उद्योग प्रभावकारी माध्यम बन्न सक्छन् । कृषि उत्पादनमा आधारित खाद्य प्रशोधन उद्योग, दुग्धजन्य पदार्थ उत्पादन, फलफूल तथा तरकारीको प्रशोधन, जडीबुटीजन्य उद्योग, अल्लो तथा ढाका कपडा उत्पादन, फर्निचर निर्माण, बाँस तथा काठका सामग्री उत्पादन र हस्तकलाजस्ता व्यवसायले स्थानीय स्रोतसाधनलाई आर्थिक मूल्यमा रूपान्तरण गर्न सक्छन् ।
नेपालको ग्रामीण अर्थतन्त्रले भोगिरहेको प्रमुख चुनौती बेरोजगारी र युवा जनशक्तिको विदेश पलायन हो । गाउँमा पर्याप्त रोजगारीका अवसर नहुँदा हजारौँ युवा रोजगारीको खोजीमा सहर तथा विदेश जान बाध्य छन् । यसले गाउँमा श्रमशक्तिको अभाव सिर्जना गर्नुका साथै कृषि उत्पादन, सामाजिक संरचना र स्थानीय आर्थिक गतिविधिमा समेत प्रभाव पारिरहेको छ । साना तथा मझौला उद्योगले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सक्छन् । यस्ता उद्योग स्थापना गर्न सधैँ ठूलो पुँजी, विशाल भवन वा अत्याधुनिक प्रविधि आवश्यक पर्दैन । स्थानीय स्रोत, उपलब्ध सीप र बजारको मागअनुसार तुलनात्मक रूपमा कम लगानीबाट पनि व्यवसाय सुरु गर्न सकिन्छ ।
अचार, मसला, बेकरी, दुग्ध प्रशोधन, सिलाइकटाइ, काष्ठकला, मर्मतसम्भार, कृषि औजार निर्माण र स्थानीय खाद्य सामग्री उत्पादनजस्ता व्यवसायले गाउँमै रोजगारीका अवसर विस्तार गर्न सक्छन् । यसबाट युवा, महिला, सीमान्तकृत समुदाय तथा आर्थिक रूपमा कमजोर परिवारलाई आयआर्जनमा सहभागी गराउन सकिन्छ ।
रोजगारी सिर्जना हुनु भनेको व्यक्तिले आम्दानी प्राप्त गर्नु मात्र होइन । यसले परिवारको जीवनस्तर सुधार गर्छ, बालबालिकाको शिक्षा तथा स्वास्थ्यमा लगानी बढाउँछ र स्थानीय बजारमा वस्तु तथा सेवाको माग विस्तार गर्छ । त्यसैले ग्रामीण क्षेत्रमा उद्योगको विकासलाई बेरोजगारी न्यूनीकरण र सम्मानजनक रोजगारी सिर्जनाको महत्त्वपूर्ण रणनीतिका रूपमा लिनुपर्छ । नेपालको ग्रामीण अर्थतन्त्रको प्रमुख आधार कृषि हो । तर कृषि उत्पादनलाई कच्चा पदार्थकै रूपमा बिक्री गर्दा किसानले अपेक्षित लाभ प्राप्त गर्न नसक्ने अवस्था धेरै ठाउँमा देखिन्छ । उत्पादनको मौसमी प्रकृति, भण्डारण सुविधाको अभाव, बिचौलियाको प्रभाव र बजारको अस्थिरताले किसानको आम्दानी प्रभावित हुन्छ ।
साना तथा मझौला उद्योगले कृषि उत्पादनको प्रशोधन, प्याकेजिङ, भण्डारण र बजारीकरणमार्फत यसको मूल्य अभिवृद्धि गर्न सक्छन् । दूधबाट दही, घिउ, पनिर तथा अन्य दुग्धजन्य पदार्थ उत्पादन गर्न सकिन्छ । अदुवा, बेसार, खुर्सानी र अन्य कृषि उपजलाई प्रशोधन गरी बजारमा बिक्री गर्न सकिन्छ । फलफूलबाट जुस, जाम र सुकुटीजन्य उत्पादन तयार गर्न सकिन्छ भने स्थानीय अन्नबाट विभिन्न खाद्य सामग्री उत्पादन गर्न सकिन्छ । यसबाट किसानले आफ्नो उत्पादनको थप बजार पाउँछन् र कृषि व्यवसायलाई व्यावसायिक बनाउन प्रोत्साहन मिल्छ । उद्योगले नियमित रूपमा कच्चा पदार्थ खरिद गर्ने व्यवस्था गरेमा किसानलाई उत्पादन योजना बनाउनसमेत सहज हुन्छ । यस अर्थमा कृषि र उद्योगलाई अलग–अलग क्षेत्रका रूपमा नभई एकअर्काका पूरकका रूपमा बुझ्नुपर्छ । कृषि उत्पादनलाई उद्योगसँग जोड्न सकियो भने ग्रामीण अर्थतन्त्र निर्वाहमुखी अवस्थाबाट व्यावसायिक र उत्पादनमुखी अर्थतन्त्रतर्फ अघि बढ्न सक्छ ।
नेपालका विभिन्न भूगोलमा प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा र परम्परागत सीपको विविधता छ। हिमाली क्षेत्रमा जडीबुटी, ऊन तथा पर्यटनसँग सम्बन्धित सम्भावना छन् । पहाडी क्षेत्रमा फलफूल, तरकारी, मौरीपालन, अल्लो, हस्तकला र वनजन्य उत्पादनमा आधारित व्यवसाय सञ्चालन गर्न सकिन्छ । तराईमा खाद्य प्रशोधन, कृषि औजार, दुग्धजन्य उत्पादन र कृषि उपजमा आधारित उद्योगको सम्भावना छ । स्थानीय स्रोतसाधनको उपयोग गरी उद्योग सञ्चालन गर्दा उत्पादन लागत घटाउन, स्थानीय सीपको संरक्षण गर्न र क्षेत्रअनुसार आर्थिक अवसर सिर्जना गर्न सकिन्छ । परम्परागत हस्तकला, माटाका भाँडा, बाँसका सामग्री, ढाका कपडा तथा अन्य मौलिक उत्पादनलाई आधुनिक डिजाइन, गुणस्तर र बजार व्यवस्थापनसँग जोड्न सकिएमा तिनले राम्रो व्यावसायिक सम्भावना बोकेका हुन्छन् ।
यसले स्थानीय पहिचानलाई आर्थिक शक्तिमा रूपान्तरण गर्छ । परम्परागत सीप नयाँ पुस्तामा हस्तान्तरण हुने वातावरण पनि निर्माण हुन्छ । स्थानीय उत्पादनको प्रवर्द्धनले आयातित वस्तुमाथिको निर्भरता घटाउन र स्वदेशी उत्पादनप्रति उपभोक्ताको विश्वास बढाउनसमेत सहयोग पुर्याउन सक्छ । ग्रामीण अर्थतन्त्रमा महिलाको योगदान महत्वपूर्ण भए पनि उनीहरूको श्रम धेरैजसो औपचारिक आर्थिक गणनामा पर्याप्त रूपमा प्रतिबिम्बित हुँदैन । कृषि, पशुपालन, घरेलु काम र परिवारको हेरचाहमा संलग्न महिलाले आफ्नै नाममा व्यवसाय सञ्चालन गर्ने, वित्तीय स्रोत प्राप्त गर्ने र बजारमा पहुँच विस्तार गर्ने अवसर भने सधैँ सहज रूपमा पाउँदैनन् ।
साना तथा मझौला उद्योगले महिलाको आर्थिक सहभागिता विस्तार गर्ने अवसर प्रदान गर्छन् । महिला उद्यमीले खाद्य प्रशोधन, सिलाइकटाइ, हस्तकला, दुग्ध उत्पादन, कृषि उपजको प्याकेजिङ र अन्य सेवामूलक व्यवसाय सञ्चालन गर्न सक्छन् । सामूहिक उद्यम, सहकारी र महिला समूहको माध्यमबाट उत्पादन तथा बजारीकरणलाई व्यवस्थित बनाउन सकिन्छ । यसबाट महिलाको व्यक्तिगत आम्दानी बढ्नुका साथै परिवारको आर्थिक निर्णयमा उनीहरूको भूमिका बलियो हुन्छ । त्यसैगरी, अपाङ्गता भएका व्यक्ति, दलित, आदिवासी जनजाति तथा अन्य अवसरबाट वञ्चित समुदायलाई सीप, पुँजी र बजारमा पहुँच उपलब्ध गराउन सकेमा साना उद्योग समावेशी आर्थिक विकासका माध्यम बन्न सक्छन् । तर यस्तो सम्भावना साकार पार्न सामाजिक विभेदको अन्त्य, सम्पत्तिमा पहुँच, उद्यमसम्बन्धी तालिम, वित्तीय सेवा र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न आवश्यक छ ।
ग्रामीण क्षेत्रमा उद्योग स्थापना हुँदा त्यसको प्रभाव उद्योग सञ्चालक र कामदारमा मात्र सीमित रहँदैन । उद्योगलाई कच्चा पदार्थ उपलब्ध गराउने किसान, ढुवानी व्यवसायी, प्याकेजिङ सामग्री आपूर्तिकर्ता, मर्मतसम्भार गर्ने प्राविधिक र स्थानीय व्यापारीले समेत आर्थिक लाभ प्राप्त गर्न सक्छन् । उद्योगबाट प्राप्त आम्दानी स्थानीय बजारमा खर्च हुँदा अन्य व्यवसायको कारोबार पनि बढ्छ । यसरी एउटै उद्योगले स्थानीय अर्थतन्त्रमा धेरै तहमा आर्थिक गतिविधि सिर्जना गर्न सक्छ । स्थानीय उत्पादन र उपभोगबीचको सम्बन्ध बलियो हुँदा गाउँको पैसा गाउँमै घुम्ने सम्भावना बढ्छ । स्थानीय तहमा उत्पादन, रोजगारी र व्यापार विस्तार भएमा स्थानीय सरकारको राजस्व आधारसमेत बलियो बन्न सक्छ । त्यसबाट सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र अन्य सार्वजनिक सेवामा लगानी गर्ने क्षमता विस्तार गर्न सहयोग पुग्छ । यसैले साना तथा मझौला उद्योगलाई केवल व्यक्तिगत आम्दानीको स्रोतका रूपमा होइन, ग्रामीण आर्थिक चक्रलाई गतिशील बनाउने आधारका रूपमा हेर्नुपर्छ ।
नेपालका गाउँहरू प्राकृतिक सौन्दर्य, संस्कृति, परम्परा, खानपान र जीवनशैलीका दृष्टिले विशिष्ट छन् । ग्रामीण पर्यटनको विकाससँगै स्थानीय उत्पादनको माग बढाउने सम्भावना पनि छ । होमस्टे, स्थानीय होटल, पदयात्रा मार्ग र सांस्कृतिक पर्यटनका क्षेत्रमा स्थानीय खाद्य सामग्री, हस्तकला, परम्परागत पोसाक तथा उपहारजन्य वस्तुको बजार विस्तार गर्न सकिन्छ । यदि पर्यटन व्यवसायले स्थानीय किसानबाट खाद्यान्न खरिद गर्ने, स्थानीय उद्योगबाट सामग्री लिने र स्थानीय जनशक्तिलाई रोजगारी दिने व्यवस्था अपनाएमा पर्यटनको लाभ गाउँमै वितरण हुन सक्छ । यसबाट पर्यटन र साना उद्योगबीच परिपूरक सम्बन्ध निर्माण हुन्छ । तर यसको लाभ लिन स्थानीय उत्पादनको गुणस्तर, सरसफाइ, प्याकेजिङ, व्यावसायिक सीप र नियमित आपूर्ति व्यवस्थामा सुधार गर्न आवश्यक छ ।
साना तथा मझौला उद्योगको सम्भावना ठूलो भए पनि ग्रामीण क्षेत्रमा तिनको विकास सहज छैन । पर्याप्त पुँजीको अभाव, महँगो ऋण, कमजोर सडक तथा विद्युत् सुविधा, बजारसम्म पहुँचको कठिनाइ, प्रविधिको कमी, दक्ष जनशक्तिको अभाव र प्रशासनिक प्रक्रियाको जटिलताले उद्यमीलाई निरुत्साहित गर्न सक्छ । त्यसैगरी, उत्पादनको गुणस्तर कायम राख्न नसक्नु, बजारको मागबारे पर्याप्त जानकारी नहुनु र व्यवसाय सञ्चालनसम्बन्धी ज्ञानको कमीले पनि उद्योगको दिगोपनमा समस्या सिर्जना गर्छ ।
यी चुनौती समाधान गर्न सरकार, स्थानीय तह, वित्तीय संस्था, सहकारी, निजी क्षेत्र र उद्यमीबीच सहकार्य आवश्यक छ । स्थानीय सम्भावनाको पहिचान गरी क्षेत्रअनुसार उद्योग विकासको योजना बनाउनुपर्छ । सहुलियतपूर्ण ऋण, उद्यमशीलता तालिम, प्राविधिक सहयोग, विद्युत् तथा यातायात पूर्वाधार र बजारसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।