काठमाडौं, सिद्धार्थ बैंकले दराजसँगको सहकार्यमा दशैंलाई लक्षित गर्दै ‘१०–१० दशैं धमाका’ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत सिद्धार्थ बैंकका भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराज एपमार्फत सामान खरिद गर्दा ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
असोज १५ गतेदेखि २६ गतेसम्म अर्थात् अक्टोबर १ देखि १२, २०२६ सम्म सञ्चालन हुने अफरमा सिद्धार्थ बैंकको भिसा डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत वा अधिकतम १ हजार रुपैयाँ तथा भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा अधिकतम एक हजार पाँच सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट प्राप्त गर्न ग्राहकले दराज एपमा रहेको ‘मेगा दशैं धमाका १०.१०’ अभियानअन्तर्गत ‘बैंक भौचर’ सेक्सनमा गई सिद्धार्थ बैंकको भौचर संकलन गर्नुपर्नेछ । संकलित भौचर ग्राहकको दराज प्रोफाइलको ‘माइ भौचर’ मा सुरक्षित हुनेछ । त्यसपछि एक हजार नौ सय ९९ वा सोभन्दा बढीको खरिद गर्दा उक्त भाउचर छनोट गरी भुक्तानीको माध्यममा भिसा डेविट, क्रेडिट कार्ड छनोट गर्नुपर्नेछ । त्यसपछि सिद्धार्थ बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गरी ग्राहकले सम्बन्धित छुट प्राप्त गर्न सक्नेछन् ।
दशैँको समयमा अनलाइन किनमेललाई थप सहज, सुरक्षित र लाभदायी बनाउने उद्देश्यले अफर ल्याइएको बैंकले जनाएको छ । सहकार्यले ग्राहकलाई डिजिटल भुक्तानीका सहज तथा सुरक्षित माध्यम प्रयोग गर्न प्रोत्साहित गर्नुका साथै दशैँको किनमेलमा थप सुविधा प्रदान गर्ने बैंकको विश्वास छ । साथै, अफरले डिजिटल बैंकिङको प्रयोगलाई प्रवर्द्धन गर्न योगदान पुर्याउने अपेक्षा बैंकले गरेको छ ।