काठमाडौं, दोलखाको कालिञ्चोक गाउँपालिका–८, सुनखानीस्थित श्री कालिनाग माध्यमिक विद्यालयको पूर्वविद्यार्थी समाजको अध्यक्षमा अनिल शिवाकोटी निर्विरोध निर्वाचित भएका छन् । समाजको साधारण सभा तथा अधिवेशनले शिवाकोटीको अध्यक्षतामा आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट निर्विरोध निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा कृष्णप्रसाद शिवाकोटी, सचिवमा जयन्ती शिवाकोटी, सहसचिवमा आलोक शिवाकोटी र कोषाध्यक्षमा टेकराज शिवाकोटी चयन भएका छन् ।
समाजको साधारण सभामा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, शिक्षाविद् प्राडा विद्यानाथ कोइराला, पूर्वसूचना तथा सञ्चारमन्त्री एवं संस्थाका पूर्वअध्यक्ष जगदीश खरेल, त्रिभुवन विश्वविद्यालयका पूर्वरेक्टर प्राडा सुधा त्रिपाठी, विश्वविद्यालयका रजिस्ट्रार डा. रविन्द्र शिवाकोटीलगायतको उपस्थिति रहेको थियो ।
अधिवेशनका अवसरमा ‘पूर्वविद्यार्थी दर्पण–२०८३’ स्मारिकाको लोकार्पणसमेत गरिएको थियो । राष्ट्रिय सभाका अध्यक्ष दाहाल, विशिष्ट अतिथि कोइराला तथा समाजका अध्यक्ष सन्तोष पाण्डेले संयुक्त रूपमा स्मारिकाको लोकार्पण गरेका थिए । सोही अवसरमा राष्ट्रिय सभाका अध्यक्ष दाहालले सांसदसमेत रहेका पुर्वमन्त्री खरेल, प्राडा त्रिपाठी, डा. शिवाकोटी, रामकृष्ण शिवाकोटी, गणेश शिवाकोटी र कृष्णप्रसाद शिवाकोटीलाई सम्मान गरेका थिए ।