काठमाडौं, नेपालमा राइड सेयरिङका लागि ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरिएको छ । तपाईंको बजार र भेट्रा मोटर्स प्रालिको सहकार्यमा सार्वजनिक गरिएको स्कुटरको मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।
कम्पनीका अनुसार राइड सेयरिङमा आबद्ध राइडरलाई सवारीसाधन भाडामा उपलब्ध गराउनेभन्दा आफ्नै सवारीसाधनको मालिक बनाउने उद्देश्यले योजना ल्याइएको हो । योजनाअन्तर्गत राइडरले शून्य डाउनपेमेन्टमा इलेक्ट्रिक स्कुटर लिन सक्नेछन् । दैनिक आम्दानीबाट किस्ता तिर्दै स्कुटरको स्वामित्व हासिल गर्न सकिने कम्पनीको भनाइ छ ।
हाल बजारमा राइड सेयरिङका लागि विभिन्न कम्पनीले दैनिक ८ सयदेखि १ हजार रुपैयाँसम्ममा बाइक तथा स्कुटर भाडामा उपलब्ध गराउँदै आएका छन् । सोही हाराहारीको रकममा राइडरलाई स्कुटरको मालिक बन्ने अवसर प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको तपाईंको बजारले जनाएको छ । तपाईंको बजारकी प्रमुख कार्यकारी अधिकृत माया लामाले ५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहितको योजना सुरु गरिएको बताइन् ।
लामाका अनुसार राइड सेयरिङ क्षेत्रमा विद्युतीय स्कुटरको प्रयोग बढाउँदै छुट्टै विद्युतीय राइडिङ इकोसिस्टम विकास गर्ने कम्पनीको योजना छ । नेपालभर अधिकृत डिलर नियुक्तिका लागि आवेदन समेत खुला गरिएको उनले जानकारी दिइन् । कम्पनीका अनुसार ‘भेट्रा एरोन’ले एकपटक पूर्ण चार्ज गर्दा २५० किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ ।
नेपाली सडक तथा भूगोललाई लक्षित गरी तयार गरिएको स्कुटरमा १६५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ५ हजार वाटको मोटर र १२० एम्पियर क्षमताको एलएफपी ब्याट्री रहेको कम्पनीले जनाएको छ । विशेषगरी राइड सेयरिङ तथा राइड–हेलिङ व्यवसायका लागि स्कुटर उपयुक्त हुने कम्पनीको भनाइ छ । भेट्रा मोटर्सका निर्देशक मनिष श्रेष्ठले नेपाली सडकका उकाली–ओरालीलाई समेत ध्यानमा राखेर स्कुटर तयार गरिएको बताए ।