विराटनगर, उद्योग संगठन, मोरङले आगामी पुसमा नवौँ संस्करणको बिराट एक्स्पो २०२६ आयोजना गर्ने भएको छ । संगठनले बुधबार पत्रकार सम्मेलन गरी एक्स्पोको अवधारणा, थिम, मस्कट र तयारीबारे जानकारी गराएको हो ।
संगठनका अनुसार विराट एक्स्पो आगामी पुष २ देखि ११ सम्म विराटनगर–१४ स्थित डिग्री क्याम्पस परिसरमा आयोजना हुनेछ । एक्स्पो प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ । उद्योग संगठन मोरङका उपाध्यक्ष एवं एक्स्पो संयोजक विपिन कावराले यसपटकको एक्स्पो परम्परागत व्यापारिक प्रदर्शनीमा मात्र सीमित नरहने बताए । उनका अनुसार विराट एक्स्पो २०२६ नयाँ सोच, दृष्टिकोण र अभियानसहित आयोजना गर्न लागिएको हो । करिब तीन दशकअघि उद्योग, उत्पादन र व्यापारलाई एउटै थलोमा जोड्ने उद्देश्यले सुरु भएको एक्स्पोको आवश्यकता अहिले परिवर्तन भएको उनले बताए । ‘आज उद्योगलाई बजार मात्रै होइन, दक्ष जनशक्ति पनि चाहिएको छ । स्टार्ट–अपलाई लगानी, युवालाई अवसर, विद्यार्थीलाई करियरको मार्गदर्शन र निजी क्षेत्रलाई सरकारसँग सहकार्य आवश्यक छ’, कावराले भने, ‘त्यसैले एक्स्पोलाई स्टलहरूको प्रदर्शनीमा मात्रै सीमित नराखी आर्थिक तथा व्यावसायिक अवसर सिर्जना गर्ने साझा प्लेटफर्मका रूपमा विकास गर्न खोजेका छौँ ।’ यस वर्षको एक्स्पोमा छ वटा प्रमुख अवसरमूलक प्लेटफर्म सञ्चालन गरिने संयोजक कावराले जानकारी दिए ।
पहिलो प्लेटफर्मका रूपमा ‘कनेक्टिङ टु द फ्युचर’ अन्तर्गत विद्यार्थी तथा युवालाई करियर मार्गदर्शन, स्थानीय उद्योगको जानकारी, रोजगारी र सीप विकासका अवसरसँग जोडिनेछ । संगठनका सदस्य उद्योगहरूले आफ्ना उत्पादन, प्रविधि र रोजगारीका सम्भावना प्रस्तुत गर्नेछन् । त्यसैगरी, मेकानिकल स्पेस, इन्डस्ट्रियल अटोमेसन, फेसन डिजाइन, एग्रिकल्चर, हस्पिटालिटी, ब्युटी एन्ड वेलनेस, हेल्थ लगायत आठ क्षेत्रमा सीप तथा तालिमसम्बन्धी विशेष बुथ राखिनेछ । दोस्रो प्लेटफर्म ‘स्टार्टअप एन्ड इन्टरप्रेनरसिप प्याभिलियन’ रहनेछ । यसअन्तर्गत नयाँ सोच, नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गरिनेछ । मेकर स्पेस, डिजाइन थिङ्किङ, बुट क्याम्प तथा नयाँ र विस्तारको चरणमा रहेका उद्यमका उत्पादन तथा सेवाको प्रदर्शनी गरिनेछ । तेस्रो प्लेटफर्म ‘बीटुबी कनेक्ट–बिजनेस डेभलपमेन्ट सर्भिसेज’ हुनेछ । यसमार्फत उद्योग तथा व्यवसायलाई आवश्यक पर्ने दर्ता, कानुनी परामर्श, ब्रान्डिङ, प्याकेजिङ, गुणस्तर परीक्षण, प्रमाणीकरण, लजिस्टिक्स, व्यावसायिक परामर्श तथा बजार पहुँचसम्बन्धी सेवा एउटै स्थानबाट उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
त्यसैगरी, चौथो कार्यक्रमका रूपमा ‘विराट बिजनेस समिट २०२६’ आयोजना गरिने उनले जानकारी दिए । तीनदिने उक्त व्यावसायिक तथा नीतिगत सम्मेलनमा उद्योग, व्यवसाय, लगानी र आर्थिक विकाससँग सम्बन्धित विषयमा छलफल तथा सहकार्यका अवसर सिर्जना गरिने आयोजकले जनाएको छ । एक्स्पोलाई उद्योग, उद्यमशीलता, सीप विकास, रोजगारी र लगानीको अवसरसँग जोड्ने उद्देश्यले विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता गराउने तयारी भइरहेको संगठनले जनाएको छ ।