(विकिपिडियामा राजनीतिक भ्रष्टाचार : भ्रष्टाचार सार्वजनिक जीवनमा स्वीकृत मूल्यहरूको विरुद्धको आचरणलाई मानिन्छ । साधारण जनजीवनमा यसलाई आर्थिक अपराधहरूसित जोडिन्छ । भ्रष्टाचारलाई बेइमानी वा आपराधिक अपराधको एक रूप हो जसमा एक व्यक्ति वा संगठनले प्राप्त गरेको अधिकारको स्थितिमा अवैध लाभहरू प्राप्त गर्न वा आफ्नो व्यक्तिगत लाभको लागि शक्तिको दुरुपयोग गर्दछन् । भ्रष्टाचारमा धेरै गतिविधिहरू समावेश हुन सक्छन् जसमा घूसखोरी, प्रभावको कारोबार र अपचलन समावेश छन् । राजनीतिक भ्रष्टाचार, एक कार्यालय धारक वा अन्य सरकारी कर्मचारीले, व्यक्तिगत लाभको लागि आफ्नो आधिकारिक क्षमताका साथ कार्य गर्दा हुन्छ ।)
संयोग हो कि के हो चिनियाँ नागरिक अर्थात् व्यवसायीसँग नेपालका प्रधानमन्त्रीको फेरबदलका लागि सांसदहरू खरिद गर्ने भन्दै ५० करोडको लेनदेन भयो पहिलो संविधानसभाको कार्यकालमा । त्यो सभा माओवादीको प्रचण्ड बहुमतवाला थियोे । त्यही कार्यकाको दोस्रोपटक यो दलका अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ प्रधानमन्त्रीको एक उम्मेदवार थिए । उनलाई जिताउने सन्दर्भमा माओवादीका प्रभावशाली नेता कृष्णबहादुर महरा र अपरिचत चिनियाँ नागरिक सांसदहरू खरिद गर्नुपर्ने भन्दै ५० करोड लेनदेनका लागि भएको कुराकानीको टेलिफोन वार्ता सार्वजनिक भयो । तर यो घटनाको त्यसपछि छानबिन भएन । उताबाट यो रकम लिन आउन भनेर बोलाउने चिनियाँ नागरिक को थिए भन्ने पनि ।
२०६७ भदौ ११ मा भएको यो वार्ताका नेपाली वार्ताकार महरा र त्यो वार्ताका लागि अनुमति दिने त्यसबेलाको प्रधानमन्त्रीका उम्मेदवार प्रचण्ड यो वार्ताअनुसारको रकमबाट लाभान्वित हुने पहिलो व्यक्ति हुन् । उनलाई नै यो पदमा पु¥याउन यो अभ्यास भएको वार्ताबाटै बुझिन्छ जसमा प्रचण्डको पनि प्रस्ताव भएअनुसारको रकमबारे पुराका पुरा जानकारी थियो ।
अपरिचित व्यक्तिसँग यस्तो वार्ता गर्ने वा गर्न अनुमति दिने व्यक्ति अहिले पनि जीवित नै छन् । यो समयमा ती चिनियाँ के भए त्योचाहिँ खुलेको छैन । तर यो वार्ताको प्रभाव भने अहिलेसम्म परिरहेको नै भन्ने विज्ञहरूको बुझाइ छ । किनभने चीनतर्फबाट भइरहेको सुन तस्करीको मात्रा झन्झन् बढिरहेकै छ ।
बुझाइअनुसार यसपछि नेपालमा हुनेगरेको सुन तस्करीका शृंखला बढेका र त्यसमा चिनियाँ नागरिकको व्यापक उपस्थिति रहेका देखिन थाल्यो । अवस्था कस्तोसम्म भने यो दलका उच्चतहका नेताहरू तिनै तस्करका भोजभतेरमा खुलारुपले नै सामेल हुन थाले । त्यसका चित्रहरू सार्वजनिक हुँदा पनि राज्यले खोजबिन नै गरेन ।
त्यसबेला संसद्का सबैभन्दा ठूला दलका ठूला नेताले गरेका ५० करोड लेनदेनसम्बन्धी सार्वजनिक भएको टेपवार्ताको छानबिन भएको थियो भने कम्तीमा चिनियाँ नागरिकबाट हुनेगरेको तस्करी यो हदसमम फस्टाउन पाउने थिएन होला र त्यस्ता तस्करलाई राजनीतिक संरक्षण पनि हुने थिएन होल ।
स्थिति कतिसम्म भने एउटा दल माओावदीका अर्थमन्त्री सभामुखलगायतका पदाधिकारीहरू समेत यस्ता तस्करीका घटनामा जोडिन गएका देखिँदा भेटिँदा पनि छानबिन भएन । यसले यस्तो सुनको तस्करीमा कुनै दलको सलग्नता स्पष्ट देखाउँछ । यहाँ प्रस्तुत ५० करोड लेनदेन भएको भनेर बुझिने टेपवार्ताको सन्देश त्यही हुनुपर्छ ।
चिनियाँ नागरिकबाट तस्करी भएर आउने सुनको मात्रा पनि बढ्दै गयो । एकै पटकमा सय किलो सुन तस्करी प्रकरणमा नाम जोडिएका कतिपय माओवादी नेताहरूप्रति सरकार मौन रहेको कारण पनि तस्करी यसरी मौलाएको बुझ्न सकिन्छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र यो कालखण्डमा निरन्तर सत्रामा रहेको दलमध्येमा पर्छ सरकारको नेतृत्व गर्नुपर्दा यसका अध्यक्षसमेत रहेका प्रचण्ड प्रधानमन्त्री हुन्थे भने अरु नेता विभिन्न मन्त्री । यो वार्तामा मुछिएका व्यक्ति मात्रै पनि त्यो कार्यकालको विभिन्न समयमा अर्थ, गृह, परराष्ट्रजस्ता मन्त्री भए । सुन तस्करी प्रकरणमा आफ्ना पार्टीका नेताहरूको नाम जोडिँदासमेत कतैबाट छानबिनको कुरा नआउनु सत्ता नै कारक हुनुपर्छ ।
यो कालखण्डमा अनेक गठवन्धनगरी पटक–पटक प्रधानमन्त्री भएका ‘प्रचण्ड’ पनि सुन तस्करीका एक लाभग्राहीजस्ता देखिन्छन् । यहाँ प्रस्तुत वार्ताको विवरणमा नै यस कुराको संकेत देखिन्छ । जस्तो वार्तामा भनिएको छ –
महराः तपाईंको सुझावबारे मैले अध्यक्षज्यूसँग कुरा गरेँ । कोही अर्को व्यक्तिले पनि अध्यक्षज्यूसँग कुरा गरिरहेको छ भन्ने कुरा आयो, के त्यो सही हो ?
महराः तर त्यो कुरा कुनै ठोस रूपमा गएको छैन । अध्यक्षज्यूसँग कुराकानी गर्दा उहाँले के भन्नुभयो भने अब त चुनावका लागि चार दिन मात्रै बाँकी छ । हामीलाई ५० सदस्य आवश्यक छन् । त्यो हासिल गर्न एक जनालाई कम्तीमा पनि १० लाख नेपाली रुपैयाँ चाहिन्छ ।
तस्कर र नेताका सम्बन्ध
एकै लटमा सय किलो सुन तस्करी प्रकरणको अभियोगमा पक्राउ परेका चिनियाँ नागरिक दावा छिरिङसँग माओवादी नेताहरूको राम्रै सम्बन्ध रहने गरेको पटक–पटक खुल्दै नै आइरहेकै थियो । यो तस्करीको केही समयअघि मात्रै दावा छिरिङ र माओवादी नेताहरू वर्षमान पुन र ओनसरी घर्तीमगर सँगै बसेर खाना खाँदै गरेको तस्बिर सार्वजनिक भए । संसदमा सुन तस्करसँग सम्बन्ध रहेको भन्ने चर्चा चल्यो । तर, सरकार तथा माओवादी पार्टीले उहाँहरूसँग यससम्बन्धमा सामान्य सोधपुछसमेत गरेको देखिएन ।
यसभन्दा केहीअघि मात्रै चुरोटभित्र राखेर नेपाल भित्राएको नौ किलो सुन तस्करीमा जोडिएका पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल धेरैपछि मात्रै अनुसन्धानमा परे । महरा यतिबेला धरौटीमा छन । यो आठ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबुछोरा संलग्न भएको भनेर प्रहरीको विशेष अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनमा किटान भएको थियो ।
त्यसबेलाका समाचार विवरण अनुसार इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक लीसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबुछोराले उनलाई सहयोग पु¥याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई तारन्तार फोन गरेको तथ्य सार्वजनिक भए । सुन ल्याउने मात्र होइन, भन्सारमा रोकिएपछि त्यहीँबाट मिलिभगतमा बेच्ने सञ्जालमा महरा बाबुछोरा भएको किटान प्रहरी प्रतिवेदनमा थियो ।
यो पटकको तस्करीमा त प्रहरीले कल डिटेल रेकर्डसहित कृष्णबहादुर र राहुलको विवरण खुलाएका थिए । रपनि उनीहरूको संलग्नता छायामा नै प¥यो । दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङको लगेजमा ७३ बट्टामा सात सय ३० थान भेप भेटिएको थियो । अनुसन्धानका क्रममा भेपभित्र नौ किलो ११.५२४ ग्राम सुन रहेछ । उक्त सुनको बजार मूल्य आठ करोड ५५ लाख २८ हजार तीन सय ७४ रुपियाँ रहेको काठमाडौं सुनचाँदी व्यवसायी संघको मूल्यांकन गरेको थियो । त्यसबेला उक्त सुन लिलाम नगरी भन्सारका अधिकारीसहितको मिलेमतोमा बेचिएको थियो ।
पृष्ठभूमिमा ५० करोडको वार्ता
यो वार्तालाप पछिनै तत्कालीन उपाध्यक्ष महराको सुन तस्करीमा संलग्न व्यक्तिसँग पटक–पटक फोन गरेको तथ्य बाहिरिदै आइरहेका थिए । त्यसैसँग जोडिएर महराको चिनियाँ नागरिकसँगको पुरानो टेलिफोन संवाद पनि चर्चामा आइरहे । पछिल्लो समय चिनियाँ नै मुछिएका तस्करीमा मात्रै नाम आएको देखिएन ।
यसअघि हङकङबाट आएको साढे ६० किलो सुन बरामद भएपछिका अनुसन्धानमा पनि महराको पनि संलग्नता रहेकोभन्ने चर्चामा आए । यसको केही दिन अघि मात्रै बरामद भएको नौ किलो सुन तस्करी प्रकरणमा महरा बाबुछोरा नै संलग्न रहेका भनेर नाम जोडिएको थियो । त्यसमा सुन तस्करीमा संलग्न व्यक्तिहरूसँग उनले पटक–पटक फोन सम्पर्क गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानमा देखियो । यो तथ्य बाहिरिएसँगै महराको ५० करोड वार्ताको पुरानो टेलिफोन संवादबारे अझ बढी सान्दर्भिक हुँदै गएको बुझ्न सकिन्छ ।
२०६७ भदौ १८ गते सार्वजनिक भएको अडियोमा महराले चिनियाँ नागरिकसँग ५० करोड रुपैयाँ मागेका सुनिन्छ भनेर त्यसको विवरण नै मुद्रणमा आए । त्यो रकम लिनका लागि उनी हङकङ जान तयार भएका भन्ने वार्तामै खुल्छ । यावार्ता सांसद खरिदका लागि विदेशी अर्थात् चिनियाँ नागरिकसँग रकम मागेको भन्नेले अझ गम्भीर पक्ष खोल्छ । महरा र चिनियाँ नागरिकबीचको टेलिफोन संवाद–
चिनियाँः चुनाव आउँदै छ भन्ने सुनिन्छ, के हुँदै छ ?
महराः हो, चुनाव निकट आएको छ । तर, कहिले हुन्छ भन्ने स्पष्ट भएको छैन ।
चिनियाँः के माओवादीले राम्रै स्थान ल्याउला भन्ने सोच्नुभएको छ?
महराः त्यस्तो सम्भावना छैन । तर, हामीले प्रयास गरिरहेका छौँ । धेरै गाह्रो छ ।
चिनियाँः केले समस्या बनाएको हो त?
महराः हामीसँग १० देखि १५ वटा त पहिल्यै छ । ५० हाराहारी आउँछ होला ।
चिनियाँः अर्को, ५० चाहियो हैन त?
महराः हो, पाँचलाई सुन्ना पचास ।
चिनियाँः तपाईंहरूलाई ५० सीट ल्याउन कस्तो खालको सहयोग गर्न सक्छौं त?
महराः यो चाहिं अलि गाह्रै काम हो किनभने दक्षिणले उनीहरूलाई सहयोग गरिरहेको छ । दक्षिणलाई ‘न्यूट्रलाइज’ गर्न र दोस्रो कुरा केही पैसा चाहिन्छ ।
चिनियाँः कतिजति चाहिन्छ होला?
महराः म यसै भन्न सक्दिनँ । मैले यसबारे अध्यक्षसँग कुरा गर्नुपर्छ ।
चिनियाँः मेरा एक जना साथी छन् । जसले तपाईंलाई सहयोग गर्ने कुरा गरिरहेका छन् । भेटेर कुरा गर्नुपर्छ ?
महराः भेट्नका लागि तपाईंलाई कहाँ पायक पर्छ ?
चिनियाँः हङकङ हुन्छ?
महराः उनले कोसँग भेट्न चाहेका हुन् ?
चिनियाँः तपाईं र अध्यक्षसँग मात्रै, अरूसँग होइन ।
महराः तर, हाम्रो अध्यक्षलाई आउजाउ गर्न साह्रै गाह्रो छ । उहाँ हङकङ जानुभयो भने सबैले उछाल्छन् । किनभने उहाँ पूर्व प्रधानमन्त्री र प्रधानमन्त्रीको उम्मेदवार पनि हुनुहुन्छ ।
चिनियाँः त्यसो भए तपाईंले उहाँको प्रतिनिधित्व गर्दै मेरो साथीलाई भेट्न सक्नुहुन्छ कि !
महराः हुन्छ, हुन्छ । म जहाँ आउन पनि तयार छु । म यहाँ, त्यहाँ, जहाँ पनि जान सक्छु तर यो सन्देश उहाँकहाँ पु¥याउनै पर्छ । उहाँलाई निम्ता पुग्नुप¥यो र अनि उहाँले मलाई पूर्ण जिम्मेवारी दिनुहुन्छ ।
चिनियाँः हाम्रो योजना के छ भने पहिला हामी तपाईसँग भेट्न चाहन्छौं । हामी सबै कुरा विस्तृतमा गर्नेछौं । ५० सीट ल्याउन के सहयोग गर्न सकिएला भनेर छलफल गर्नेछौं ।
महराः त्यसका लागि महत्वपूर्ण ठाउँ चीन नै हुन्छ होला । चीनको छेन्दुमा । छेन्दु राम्रो ठाउँ हो । कसैलाई थाहा पनि हुँदैन ।
चिनियाँः तर यो संवेदनशील विषय हो, हामी वर्तमान सरकारसँग कुनै खालको हस्तक्षेप चाहँदैनौँ ।
महराः त्यसो हो भने सिंगापुर अर्को ठाउँ छ नि !
चिनियाँः सिंगापुर कि हङकङ ?
महराः हङकङमा धेरै नेपाली छन् । त्यहाँ उनीहरू हुन्छन् । त्यसैले सिंगापुर नै राम्रो हुन्छ ।
चिनियाँः ल म आफ्नो साथीसँग कुरा गर्छु ।
महराः आज साँझ म तपाईंलाई फोन गर्छु, हुन्छ ?
चिनियाँः हुन्छ, हुन्छ । हङकङमा सम्भव हुन्छ कि भन्ने हेर्नुहोला ।
महराः हुन्छ, म यही नम्बरमा तपाईंलाई फोन गर्छु ।
चिनियाँः हुन्छ, ल म तपाईंको फोनको प्रतीक्षामा हुन्छु ।
महराः हुन्छ, तपाईंले आफ्नो स्रोतबाट अध्यक्षज्यूकोमा पनि सन्देश पुर्याउनुहोला ।
चिनियाँः के तपाईंले मलाई अध्यक्षसँग पनि कुरा गरोस् भन्न चाहनुभएको हो?
महराः हुन्छ, म फोन गर्छु ।
चिनियाँः हुन्छ, हुन्छ ।
भोलीपल्ट
चिनियाँः हेलो महराज्यू !
महराः हजुर, हजुर । के छ? सन्चै हुनुहुन्छ ?
चिनियाँः ठीक छ, ठीक छ । धन्यवाद! मलाई त तपाईंले हिजो फोन गर्नुहोला भन्ने लागेको थियो ।
महराः हिजो बेलुका मैले फोन गर्न सकिनँ । त्यही भएर मैले आजै बिहान फोन गरेँ ।
चिनियाँः ए, ठीक छ ठीक छ ।
महराः तपाईंको सुझावबारे मैले अध्यक्षज्यूसँग कुरा गरें । कोही अर्को व्यक्तिले पनि अध्यक्षज्यूसँग कुरा गरिरहेको छ भन्ने कुरा आयो, के त्यो सही हो ?
चिनियाँः मेरो तर्फबाट त होइन । मेरो साथी र मैले त तपाईंसँग मात्र कुरा राखेका छौं ।
महराः तर त्यो कुरा कुनै ठोस रूपमा गएको छैन । अध्यक्षज्यूसँग कुराकानी गर्दा उहाँले के भन्नुभयो भने अब त चुनावका लागि चार दिन मात्रै बाँकी छ । हामीलाई ५० सदस्य आवश्यक छन् । त्यो हासिल गर्न एक जनालाई कम्तीमा पनि १० लाख नेपाली रुपैयाँ चाहिन्छ ।
चिनियाँः त्यसो भए नेपाली सय लाख चाहियो, हैन ?
महराः हो ।
चिनियाँः तर पहिला भेट्नु नै पर्नेछ, किनभने केही कुरा विस्तृत रूपमा गर्नुपर्ने हुन्छ । त्यसका लागि तपाईं हङकङ आउन सक्नुहुन्न ?
महराः तर त्यहाँ धेरै नेपाली छन् । के गर्ने होला ?
चिनियाँः अर्को देशमा जाँदा मेरो साथीलाई विशेष भिसा लिनुपर्ने हुन्छ, तर हङकङमा उहाँ सजिलै जान सक्नुहुन्छ । कसैले थाहा पनि पाउँदैनन् ।
महराः कहिले त ?
चिनियाँः जहिले भए पनि हुन्छ । हामी त खुला नै छौं त्यसमा । तर तपाईं कहिले आउन सक्नुहुन्छ ?
महराः अब चार दिन मात्रै बाँकी छ । अलि छिटै गर्नुपर्ने हुन्छ । म भोलि आऊँ त ?
चिनियाँः हुन्छ ।
महराः कि आजै गरूँ ?
चिनियाँः तपाईं हङकङमा कति बस्नुहुन्छ, एक रात ?
महराः अँ, एक रातले पुगिहाल्छ ।
चिनियाँः हुन्छ ।
महराः ल म तपाईंलाई नेपालको १२ बजे फोन गर्छु है त! म आजै साँझ पनि आउन सक्छु ।
चिनियाँः हुन्छ, हुन्छ ।
महराः ल मेरो इमेल हेर्नुहोला १० मिनेटमा ।
चिनियाँः म एउटा मीटिङमा जाँदै छु । नेपालको १० बजेसम्म म इमेल चेक गर्न पाउँदिनँ होला ।
महराः हुन्छ, १० बजे इमेल हेर्नुहोला ।
चिनियाँः तपाईं हङकङमा कहाँ बस्नुहुन्छ, मलाई भन्नुहोला । ताकि तपाईंलाई भेट्न सकूँ ।
महराः हुन्छ, हुन्छ । - केदार सुवेदी