प्रविधिले संसारलाई सानो बनाइदिएको छ। कुनै समय एउटा सामान किन्न बजारसम्म पुग्नुपर्ने मानिस आज आफ्नै मोबाइलको पर्दाबाट संसारभरका पसलमा प्रवेश गर्न सक्छ। केही सेकेन्डमै सामान छनोट हुन्छ, केही क्लिकमै भुक्तानी हुन्छ र केही दिनभित्र सामान घरको ढोकासम्म आइपुग्छ। यो आधुनिक सभ्यताको ठूलो उपलब्धि हो। समय बचत भएको छ, दूरी घटेको छ, बजार विश्वव्यापी बनेको छ र उपभोक्ताको छनोटको दायरा विस्तार भएको छ।
जहाँ सुविधा जन्मिन्छ, त्यहीँ त्यसको दुरूपयोग गर्ने प्रवृत्ति पनि जन्मिन्छ। आगोले खाना पकाउन सिकायो, तर त्यही आगोले घर पनि जलायो। इन्टरनेटले व्यापारलाई सहज बनायो, तर त्यही इन्टरनेटले ठगीलाई पनि अदृश्य बनाइदियो। त्यसैले अनलाइन सपिङको प्रश्न प्रविधिको होइन, प्रविधिमाथि आधारित विश्वासको प्रश्न हो। कुनै पनि डिजिटल कारोबारको वास्तविक मुद्रा पैसा होइन; विश्वास हो। जब विश्वासलाई छलको साधन बनाइन्छ, तब क्षति रकमको मात्र हुँदैन, समाजको नैतिक पुँजीको पनि हुन्छ।डिजिटल बजारको सबैभन्दा ठूलो शक्ति यसको सहजता हो, तर यही सहजता मानिसको मनोविज्ञानको सबैभन्दा कमजोर पक्षमाथि पनि खेल्छ। मानिस स्वभावतः कम मूल्यमा बढी लाभ खोज्छ।
अर्थशास्त्रले यसलाई तर्कसंगत उपभोग भन्छ भने मनोविज्ञानले यसलाई तत्काल लाभको आकर्षण मान्छ। जब कुनै वस्तु बजार मूल्यभन्दा अस्वाभाविक रूपमा सस्तो देखाइन्छ, धेरै मानिसले पहिले तर्क प्रयोग गर्दैनन्, लोभ प्रयोग गर्छन् । यही क्षण ठगको विजय सुरु हुन्छ। आधुनिक साइबर ठगी प्रविधिको खेलभन्दा धेरै मनोविज्ञानको खेल हो। ठगले कम्प्युटरभन्दा पहिले मानिसको निर्णय क्षमतालाई ह्याक गर्छ। उसले बैंक प्रणाली तोड्दैन, मानिसको सावधानी तोड्छ। उसले सुरक्षा प्रणाली भत्काउँदैन, विश्वासको ढोका खोल्न लगाउँछ। त्यसैले आजको साइबर अपराध मानव व्यवहारको कमजोरीमाथि आधारित अपराध हो। प्रविधि त केवल माध्यम हो, वास्तविक लक्ष्य मानिसको मन हो।
अनलाइन ठगीको अर्को गम्भीर पक्ष यसको अदृश्यता हो। परम्परागत चोरीमा चोर देखिन्थ्यो, घटना देखिन्थ्यो र अपराधको स्थान निश्चित हुन्थ्यो। डिजिटल अपराधमा अपराधी हजारौँ किलोमिटर टाढा हुन सक्छ, प्रयोग गरिएका फोन नम्बर नक्कली हुन सक्छन्, बैंक खाता अर्कै व्यक्तिको नाममा हुन सक्छ र पैसा केही मिनेटमै धेरै तह पार गर्दै हराउन सक्छ। यसले अनुसन्धानलाई मात्र कठिन बनाएको छैन, कानुनी प्रणालीलाई पनि चुनौती दिएको छ। अपराध विज्ञानमा एउटा सिद्धान्त छ, ‘अपराधीलाई पक्राउ हुने सम्भावना जति कम हुन्छ, अपराध गर्ने साहस त्यति बढ्छ।’ साइबर अपराधमा यही जोखिम स्पष्ट देखिन्छ। सीमाहीन इन्टरनेट, छद्म पहिचान, डिजिटल वालेट, बहुस्तरीय रकम स्थानान्तरण र अन्तरदेशीय सञ्जालका कारण परम्परागत अनुसन्धानका विधिहरू अपर्याप्त हुँदै गएका छन्। यसको अर्थ राज्यले प्रविधिसँगै आफ्ना अनुसन्धान, कानुनी संरचना र अन्तर्राष्ट्रिय सहकार्यलाई पनि समान गतिमा विकास गर्नुपर्छ।
यस समस्याको अर्को पाटो नैतिकताको हो। व्यापारको आधार विश्वास हो। ग्राहकले पैसा दिन्छ किनभने उसले वस्तु प्राप्त हुने विश्वास गर्छ। व्यापारीले वस्तु पठाउँछ किनभने भुक्तानी हुने विश्वास गर्छ। यही विश्वासमाथि सम्पूर्ण अर्थतन्त्र उभिएको हुन्छ। जब व्यापारलाई छलको माध्यम बनाइन्छ, त्यसले केवल एउटा ग्राहकलाई होइन, सम्पूर्ण डिजिटल बजारलाई क्षति पु¥याउँछ। केही ठगका कारण इमानदार व्यवसायीहरू पनि शंकाको घेरामा पर्छन्। वास्तविक व्यवसायीले पनि आफ्ना ग्राहकलाई विश्वास दिलाउन संघर्ष गर्नुपर्छ। यसरी साइबर ठगी व्यक्तिगत अपराधमा सीमित रहँदैन; यसले समग्र डिजिटल अर्थतन्त्रको विश्वसनीयता कमजोर बनाउँछ। विश्वास गुमाएको बजार दीर्घकालीन रूपमा समृद्ध हुन सक्दैन। त्यसैले साइबर सुरक्षाको बहस डिजिटल अर्थतन्त्रको भविष्यसँग सम्बन्धित प्रश्न पनि हो।समस्यामा उपभोक्ताको डिजिटल संस्कार पनि उत्तिकै महत्त्वपूर्ण छ।
धेरै मानिस प्रविधि प्रयोग गर्न सिकेका छन्, तर डिजिटल सुरक्षा सिकेका छैनन्। मोबाइल बैंकिङ चलाउन जान्नु र सुरक्षित रूपमा चलाउन जान्नु फरक कुरा हो। सामाजिक सञ्जाल प्रयोग गर्न सक्नु र त्यसमा रहेका जोखिम बुझ्नु पनि फरक कुरा हो। कुनै पनि बैंक, भुक्तानी सेवा वा सरकारी निकायले कहिल्यै ओटीपी, पासवर्ड वा स्क्रिन सेयर माग्दैन भन्ने सामान्य ज्ञानसमेत धेरै प्रयोगकर्तामा अझै विकास भएको छैन। यही कमजोरी अपराधीको सबैभन्दा ठूलो अवसर बन्छ। डिजिटल साक्षरता विद्यालयको पाठ्यक्रमदेखि सार्वजनिक अभियानसम्म अनिवार्य हुनुपर्ने समय आएको छ।
आजको युगमा पढ्न–लेख्न जान्नुमात्र पर्याप्त छैन । डिजिटल रूपमा सुरक्षित रहन जान्नु पनि नागरिकको आधारभूत सीप बनेको छ।प्रविधिको विकासले मानिसलाई सुविधा दिएको छ, तर त्यससँगै अल्छीपन पनि बढाएको छ। पहिले मानिस वस्तु हेरेर किन्थ्यो, व्यापारीसँग कुरा गथ्र्यो, गुणस्तर जाँच्थ्यो। आज आकर्षक भिडियो, चम्किलो विज्ञापन र अत्यधिक छुटले धेरै निर्णय केही सेकेन्डमै गराइदिन्छ। उपभोक्ताले वस्तुभन्दा पहिले दृश्य किन्छ। विज्ञापनले वास्तविकताभन्दा अपेक्षा बेच्न थालेको छ। फ्रान्सेली दार्शनिक जाँ बौद्रियाले आधुनिक समाजलाई ‘उपभोगको समाज’ भनेका थिए, जहाँ मानिसले वस्तु मात्र होइन, वस्तुसँग जोडिएको भ्रम पनि किन्छ। सामाजिक सञ्जालमा देखिने धेरै विज्ञापन यही भ्रमको उत्पादन हुन्। जब निर्णय विवेकभन्दा आकर्षणले गर्छ, तब जोखिम स्वतः बढ्छ।
त्यसैले डिजिटल युगको सबैभन्दा ठूलो सुरक्षा प्रविधि होइन; धैर्य हो। क्लिक गर्नुअघि सोच्ने बानी नै सबैभन्दा बलियो साइबर सुरक्षा प्रणाली हो।यस चुनौतीको समाधान बहुआयामिक हुनुपर्छ। पहिलो, राज्यले साइबर अपराध अनुसन्धानलाई आधुनिक प्रविधि, दक्ष जनशक्ति र अन्तरदेशीय समन्वयमार्फत सुदृढ बनाउनुपर्छ। दोस्रो, बैंक तथा डिजिटल वालेट प्रदायकहरूले कृत्रिम बुद्धिमत्ता, असामान्य कारोबार पहिचान प्रणाली र बहुस्तरीय प्रमाणीकरणलाई अझ प्रभावकारी बनाउनुपर्छ।
तेस्रो, सामाजिक सञ्जाल कम्पनीहरूले नक्कली व्यापारिक विज्ञापन, ठगी गर्ने पेज र भ्रामक सामग्री हटाउन सक्रिय जिम्मेवारी लिनुपर्छ। चौथो, विद्यालय, विश्वविद्यालय र सञ्चारमाध्यमले डिजिटल साक्षरतालाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्छ। सकेसम्म ‘क्यास अन डेलिभरी’ प्रयोग गर्ने, ओटीपी वा पासवर्ड कसैसँग साझा नगर्ने, स्क्रिन सेयर नगर्ने, अस्वाभाविक रूपमा सस्तो प्रस्तावप्रति शंका गर्ने र कारोबारअघि बिक्रेताको विश्वसनीयता पुष्टि गर्ने। प्रविधि सुरक्षित तब मात्र हुन्छ, जब प्रयोगकर्ता सचेत हुन्छ ।
अनलाइन सपिङको प्रश्न आधुनिक सभ्यताले विश्वासलाई कसरी व्यवस्थापन गर्छ भन्ने प्रश्न हो। डिजिटल युगले बजारलाई घरभित्र ल्याइदिएको छ, तर त्यससँगै अपराधलाई पनि अदृश्य बनाइदिएको छ। त्यसैले आजको सबैभन्दा ठूलो चुनौती प्रविधिसँगै नैतिकता, चेतना र जिम्मेवारीको विकास गर्नु हो। सुविधा विवेक विना प्रयोग गरियो भने त्यो जोखिम बन्छ। विश्वास परीक्षण विना गरियो भने त्यो कमजोरी बन्छ। प्रविधि चेतना विना अपनाइयो भने त्यो आफ्नै विरुद्धको हतियार बन्न सक्छ। सबैभन्दा सुरक्षित पासवर्ड मानिसको विवेकमा हुन्छ। त्यो विवेक जागा रहेसम्म कुनै स्क्यामरले बैंक खाता मात्र होइन, हाम्रो विश्वास पनि लुट्न सक्दैन।