जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।महाशाखाका अनुसार हाल देशका अधिकांश भूभागमा सामान्यतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली छ। कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।
भोलि बिहीबार र पर्सी शुक्रबार देशभर सामान्यतया बदली रहनेछ। दुवै दिन हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।भोलि बिहीबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै, पर्सी शुक्रबार बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।