काठमाडौं, कोलकाता–विराटनगर बल्क कार्गो रेल सेवा पूर्ण सञ्चालनमा आएसँगै व्यवसायीहरको ढुवानी खर्चमा उल्लेख्य कटौती हुने भएको छ । भारतको कोलकाता बन्दरगाहबाट नेपालको विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) सम्मको प्रत्यक्ष बल्क तथा कन्टेनर कार्गो रेल सेवा औपचारिक रुपमा सञ्चालनमा आएको छ । कार्गो रेल सञ्चालनमा आएसँगै उद्योगी व्यवसायीहरुको ढुवानी खर्चमा ३५ देखि ४० प्रतिशतसम्म बचत हुने मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले जानकारी दिए । यस्तै उनले रेल सेवाको संचालनबाट समग्र नेपालकै उद्योग, व्यवसाय र अर्थतन्त्रलाई प्रत्यक्ष लाभ पुग्ने बताए ।
उनका अनुसार सडक मार्गको तुलनामा रेलमार्फत कच्चा पदार्थ तथा वस्तुहरु ल्याउँदा ढुवानी खर्चमा ३५ देखि ४० प्रतिशतसम्म बचत भई लागत खर्च उल्लेखनीय रुपमा घट्नेछ भने सडक मार्गको ५ देखि ७ दिनको दुवानी समय अब रेलमार्फत् २४ देखि ७२ घण्टामै सीमित हुनेछ । साथै सबै कन्टेनरहरुमा जडित विद्युतीय कार्गो ट्रयाकिङ सिस्टम (ईसीटीएस)का कारण सामान सुरक्षित रहने, बाटोमा हुने चोरी वा क्षतिको जोखिम अन्त्य हुने, सामान तथा रेलको निगरानी मोबाइलबाटै गर्न सकिने, बन्दरगाहमा लाग्ने विलम्ब शुल्क (डेमुरेज), डिटेन्सन शुल्क घट्नेलगायतका बहुआयामिक लाभहरु नेपाली उद्योगी–व्यवसायीलाई प्राप्त गर्ने उनले बताए । आगामी दिनमा यस भेगका उत्पादनहरु तेस्रो मुलुक र भारततर्फ निर्यात गर्न समेत सस्तो र छिटो हुने उनको भनाइ छ । सिपिङ लाइनहरुले विराटनगरमै कार्यालय खोली कन्टेनर उपलब्ध गराउन थालेपछि नेपाली उद्योगहरुको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता समेत सुदृढ हुने उनले बताए ।
अध्यक्ष राठीले मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगी–व्यवसायीहरुले वर्षौँदेखि देख्दै आएको सपना र संघको झण्डै एक दशकदेखिको उठाउँदै आएको माग लामो प्रयासपछि पूरा भएको बताए । उनका अनुसार संघले बल्क रेल कार्गो सेवा सञ्चालनका लागि चरणवद्ध रुपमा पैरवी गर्दै आएको थियो । पहिलो चरणमा संघले करिब एक दशकअघिदेखि नै भारतका बन्दरगाहबाट सोझै विराटनगर आईसीपी यार्डसम्म रेलमार्ग जोड्न पूर्वाधार निर्माणका लागि माग थालेको उनले बताए ।
नेपाल सरकार र भारत सरकारका सम्बन्धित निकायहरु समक्ष संघको सो मागबमोजिम पूर्वाधार निर्माणको कार्य ३ वर्षअघि निर्माणसम्पन्न भई परीक्षण समेत गरिएको पनि नेपाल–भारत व्यापार तथा ट्रान्जिट सन्धिमा रहेका नीतिगत व्यवधानका कारण सो सेवाले निरन्तरता नपाएको उनको भनाइ थियो । साविकको सन्धिमा चारवटा वस्तुहरु (कोइला, क्लिंकर, मल र नुन) मात्र बल्क रेल मार्फत विराटनगर ल्याउन पाउने सीमितता रहेकोमा संघले दोस्रो चरणमा नेपाल–भारत व्यापार सन्धि संशोधनको माग गर्न थालेको उनले जानकारी दिए ।
पूर्वाधार तयार भए पनि सबै प्रकारका सामान ल्याउन नपाइने भएपछि संघले पुनः दोस्रो चरणको पैरवी तीव्र रुपमा सुरु गरी नेपाल सरकार र भारत सरकार दुवै समक्ष सचिवस्तरीय एवं कूटनीतिक बैठकहरुबाट व्यापार सन्धिका ती बाधक बुँदाहरु तत्कालै हटाउन तथा सबै प्रकारका औद्योगिक कच्चा पदार्थहरु विराटनगर यार्डसम्मै बल्क एवं कन्टेनर कार्गोमार्फत ल्याउन पाउने व्यवस्था मिलाउन माग राख्दै आएको उनले स्मरण गरे । हाल दुबै देशका सरकारले नीतिगत र कानुनी जटिलताहरु अन्त्य गरेर कोलकाता–विराटनगर सिधा कार्गो रेल सेवा औपचारिक रुपमा सञ्चालनमा आएको उनको भनाइ छ ।