काठमाडौं, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (एससीबीएनएल)ले दक्षिण एसिया तथा भारतका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पीडी सिंहको नेपाल भ्रमणले नेपालको आर्थिक विकास, लगानी प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय वित्तीय सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।
जुलाइ १९ देखि २१ सम्म सम्पन्न भ्रमणका क्रममा सिंहले नेपाल सरकार, नियामक निकाय तथा निजी क्षेत्रका प्रतिनिधिसँग भेटवार्ता गर्दै नेपालको विकास प्राथमिकता, लगानीका सम्भावना र दिगो आर्थिक वृद्धिका लागि आवश्यक सहकार्यका विषयमा छलफल गरेका थिए। यस क्रममा उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितसँग भेट गरेका थिए ।
भ्रमणका अवसरमा बैंकले आयोजना गरेको नेटवर्किङ कार्यक्रममा अग्रणी कर्पोरेट क्षेत्रका कार्यकारी, बैंकिङ क्षेत्रका नेतृत्व तथा बहुपक्षीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै सीईओ सिंहले दक्षिण एसियाली अर्थतन्त्रलाई विश्व बजारसँग जोड्न स्ट्यान्डर्ड चार्टडको अन्तर्राष्ट्रिय सञ्जाल महत्वपूर्ण रहेको उल्लेख गरे । उनले सीमापार बैंकिङ सेवा, कर्जा, परामर्श, पुँजी व्यवस्थापन तथा ग्राहकको आवश्यकता अनुसारका वित्तीय समाधानमार्फत नेपालजस्ता बजारका व्यवसायलाई विस्तार गर्न सहयोग पुग्ने र यसले समग्र राष्ट्रिय आर्थिक विकासमा योगदान पुर्याउने बताए ।
सन् १९८७ देखि नेपालमा संयुक्त लगानी संस्थाका रूपमा सञ्चालनमा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडमा हाल स्ट्यान्डर्ड चार्टर्ड समूहको ७० दशमलव २१ प्रतिशत र नेपाली सर्वसाधारणको २९ दशमलव ७९ प्रतिशत स्वामित्व रहेको छ । बैंक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत रहेको छ । हाल स्ट्यान्डर्ड चार्टर्ड नेपालमा सञ्चालनरत एकमात्र अन्तर्राष्ट्रिय बैंक हो । साथै, वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका आधारमा आईसीआरए नेपालबाट लगातार छैटौँ वर्ष ’आईसीआरएएनपी–आईआर एएए’ रेटिङ प्राप्त गर्दै आएको बैंकले जानकारी दिएको छ ।