काठमाडौं,अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–५ घर भई हाल काठमाडौंको बुद्धनगर बस्दै आएका ५२ वर्षीय कलाकार नारदप्रसाद खतिवडा, उदयपुरको कटारी नगरपालिका–७ सिरिसे घर भई हाल ललितपुरको नख्खीपोट बस्ने ३८ वर्षीय विक्रमबहादुर थापा र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) का ५९ वर्षीय गोपालकुमार गुरुङ रहेका छन्।
प्रहरीका अनुसार गत असार १२ गते अध्यागमन विभागले काठमाडौंको सानेपाबाट नौ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। उनीहरू हाल अध्यागमन विभागकै हिरासतमा छन्। उनीहरूलाई हिरासतबाट छुटाइदिने तथा अध्यागमन विभागमा रहेका थप १५ वटा राहदानीसमेत झिकाइदिने भन्दै पक्राउ परेकाहरूले ७२ लाख रुपैयाँमा मोलमोलाइ गरेको प्रहरीको दाबी छ। सोही क्रममा चिनियाँ नागरिकबाट उनीहरूले ९ लाख रुपैयाँ लिइसकेको बताइएको छ। घटनाबारे थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ परेका तीनै जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाएको सूचना अधिकारी रामेश्वर कार्कीले जानकारी दिए।